काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कमिटी बैठक गएको असोज २८ देखि सुरु भएपनि आजसम्म पटक–पटक बस्दै, कहिले बस्दै नबसी मिति तोक्दै चलिरहेको करिब २ महिना पुग्न लागेको छ । बैठकमा १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मुख्य सवालमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति हुन नसक्दा महिनौ सम्म लम्बिएको हो । यसरी पटकटक सर्दै आएको बैठक भोलिका लागि सारिएको भएपनि आज पार्टीका पदाधिकारीको छलफलपछि पार्टी सभापति देशबहादुर देउवाको निर्देशनपछि पार्टीको १५औं महाधिवेशन पुस २६ देखि २९ गतेसम्म आयोजना हुने बताएको छ । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा संचालन भएको भएपनि उनको सभापतित्वको बैठकले सहमतिको कुनै खाका ल्याउन नसकेपछि अन्तिममा सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आज यस्तो खालको निकास निकाल्दै आएको हो ।
भोलि सोमबारको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले नै कार्यतालिका सम्बन्धी प्रस्ताव पेस गर्नेछन् । यसअघि महामन्त्री र सहमहामन्त्रीले अलगअलग प्रस्ताव पेस गरेका कारण सहमतिको प्रस्ताव खड्काले पेस गर्न लाग्नुभएको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभई निर्णयार्थ पेस गर्न लागिएको हो। कार्यवाहक सभापति खड्काले अझै आवश्यक नेताहरूसँग छलफल गरी प्रस्ताव सर्वसम्मत गर्ने समझदारी भएको पनि जानकारी दिइएको छ।

