काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ। ‘सुसंस्कृत राजनीति’ र ‘सुशासन’ को मुद्दालाई केन्द्रमा राख्दै यी दुई वैकल्पिक राजनीतिक शक्तिहरूले आइतबार ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन्।
दुई दलबीच भएको सहमति अनुसार एकीकरणपछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै कायम हुनेछ। दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार र त्यसको बीचमा निलो रङको घण्टीको आकृति रहने सहमति भएको छ।
एकीकरण प्रक्रियालाई कानुनी रूप दिन निर्वाचन आयोगका प्रक्रियाहरू पूरा गर्ने र दुवै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने निर्णय पनि दुई दलले गरेका छन्।
सहमति पत्रमार्फत दुवै दलले लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दामा गोलबद्ध हुन अन्य सुसंस्कृत एवं परिवर्तनकामी शक्ति, समूह र व्यक्तिहरूलाई ‘घण्टी’ चुनाव चिह्नमा समाहित हुन आह्वान गरेका छन्।
उक्त सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति एवं उच्च संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष एवं राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्।

