कर्णाली प्रदेशको प्रदेश अस्पतालमा उपचाररत तीनजनालाई कोरोना पुष्टि भएपछि अस्पताल सिल

४ असार, सुर्खेत। कर्णालीमा कोरोना भाइरसका संक्रमित थपिने क्रममा कर्णाली प्रदेश अस्पतालको आकस्मिक (इमरजेन्सी) कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिनुका साथै ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा राखिएको छ ।

३१ जेठमा सुर्खेतका एक जना र ३२ जेठमा दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । आकस्मिक कक्षमा भर्ना भएका सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दै आएकोमा बुधवार उनीहरु तीनै जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

दैलेखका दुई जना विरामीमध्ये एक जना विगत आठ महिनादेखि टिबीको बिरामी थिए । दैलेख र सुर्खेतका अर्का एकरएक जनाले भने विष सेवन गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उनीहरुको कोरोना स्वाब परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।