Breaking News

हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना देखियो

४ असार, पोखरा । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । स्थायी ठेगाना कपिलवस्तुको बाँणगंगा–१४ भएका मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारी कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान बिहीबार दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा मुस्ताङबाहेक अरु १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण संख्या २८९ पुगेको छ ।

यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । डा. शर्माका अनुसार दुई जनाको भने उमेर खुलेको छैन ।

यसैगरी पूर्वी नवलपरासीकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन् ।

यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ ।

गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा मनाङ सहित ४२ जनामा कोरोना संक्रमित