एन्फाद्धारा १ उपाध्यक्ष र सदस्यको पद खोसियो

३ असार, सुर्खेत । अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र केन्द्रीय सदस्य दावा लामालाई दिइएको जिम्मेवारी खोसेको छ ।

बुधबार एन्फाले वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई दिइएको सदस्य संघ समितिको जिम्मेवारी खोज्दै अर्का उपाध्यक्ष वीरबहादुर खड्कालाई संयोजक तोकेको छ ।

एन्फाले फुटसल कमिटी संयोजक रहेका दावा लामालाई पनि जिम्मेवारीमुक्त गरेको छ। फुटबल कमिटीको नयाँ संयोजकमा केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठलाई तोकिएको छ ।

जिम्मेवारी खोसिएका नेम्बाङ र लामा दुवैले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको कार्यशैलीको विरोध गर्दै आएका थिए । पछिल्लो समय राष्ट्रियताको विषयमा अध्यक्ष शेर्पाले दिएको अभिव्यक्ति विवादित बनेपछि दुवैले राजीनामा मागेका थिए ।

दुई वर्षअघि भएको निर्वाचनमा शेर्पा प्यानललाई विजयी गराउन दुवैको महत्वपूर्ण भूमीका थियो। दुवै जनाले निर्वाचनमा लोकप्रिय भोट प्राप्त गरेका थिए ।

निर्वाचनमा शेर्पाको सारथी बनेका नेम्बाङ र लामा सहितकालाई २०७५ भदौ ५ गते उपसमितिको संयोजक जिम्मेवारी तोकिएको थियो ।

दुई वर्ष नपुग्दै जिम्मेवारीबाट मुक्त भएको विषयमा आफूलाई जानकारी नभएको नेम्बाङ र लामाले बताए । दुवैले पूरा कार्यकालका लागि संयोजक तोकिएको बताएका छन् ।

एन्फाले पदपूर्ति समितिको संयोजकमा शिक्षित पराजुलीलाई तोकेको छ ।

मंगलबार एन्फाले रमेश रायमाझीलाई लिग कमिटीको उपसंयोजक तोकेको थियो । रायमाझी दुई वर्षअघि सम्म अध्यक्ष शेर्पाका विरोधी थिए ।

उनले ’टेप प्रकरण’मा एन्फाको निर्वाचनमा डर र धम्की दिएर पैसाको चलखेल गरेको सार्वजनिक भएको भन्दै एपीवान टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए। उनले सो अन्तर्वार्तामा अनियमितता भएको चुनावको मान्यता नहुने भन्दै फेरि चुनाव गर्नु पर्ने बताएका थिए ।