३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनबाट पूर्वप्रधानन्यायाधिश सुशीला कार्की नेतृत्वमा सरकार बनेको छ । हिजो तीन सदस्यीय मन्त्रीमण्डल विस्तारमा मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङ र ओम प्रकाश अर्यालले शपथ लिएका छन् । शपथपछि पदभार गर्ने क्रममा मन्त्रीद्धय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । यस विषयमा कतिपयले प्रशंसा सहित राम्रो काम भनेका थिए । तर यस विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विप्लवको यसलाई ‘जनतामा भ्रम छर्ने’ अभिव्यक्ति भनेर व्याख्या गरेका छन् ।
विप्लवले भने, ‘मन्त्रीहरुले आज भाषण गरेको सुनेँ– म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ तेले ?
विप्लव यत्तिमै रोकिएनन् । उनले थप व्याख्या गर्दै भने, ‘त्यो भनेको त कतैबाट त्यसले कमाको छ नि त । ‘यो घमण्ड हो के । यो त जनतामा भ्रम छर्ने कुरा हो ।’ यस्ता अभिव्यक्ति दिने व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने विप्लवको बुझाइ छ । त्यसैले उनले भने, ‘त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ ।
कार्यक्रममा विप्लवले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुलाई ‘राम्रो काम’ गर्न शुभकामना दिए । ‘सुशीलाजीलाई हाम्रो यो पनि शुभकामना छ, राम्रो गर्नुस् न । आइहाल्नुभयो तपाईंले गर्नुस् न, अरु मन्त्रीहरुले पनि राम्रो गर्नुस्,’ उनले भने, ‘तर यसको मतलव अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने कुरातिर होइन । राम्रो गर्ने तिरबाट सोच्नुपर्छ ।’
विप्लवले सोमबार बेलुका नै एक भिडियो सन्देश सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएका थिए । ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको टिप्पणी समेत गरेका छन् ।

