१४ दिन पुरा गरी घर जाने बेला आरडिटी रिर्पोटमा पोजेटिभ आएपछि स्वास्थ्यकर्मीलाई कुटपिट

२ असार, काठमाडौं । जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् ।

भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् ।

उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि सोमबार दिउँसो गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैँ आरडिटी गर्न पुगेका थिए ।

केही व्यक्तिको आरडिटी गरिसकेपछि एक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आयो ।

ती महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनमा बसिरहेका उनीहरुले ‘तैँले किन आरडिटी रिपोर्ट पोजेटिभ निकालिस’ भन्दै स्वास्थ्यकर्मीमाथि नै ढुङ्गामुढा प्रहार गर्न थाले ।

उनीहरुले प्रहार गरेको ढुङ्गा लागेर स्वास्थ्य संयोजक भण्डारी घाइते भएका छन् ।

स्वास्थ्यकर्मी भण्डारीको छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति सम्पर्क व्यक्ति ओमजङ्ग शाहीले जानकारी दिए ।

स्वास्थ्य संयोजक भण्डारीको छातिमा नीलडाम परेको र उनी बोल्न सक्ने स्थितिमा नभएको शाहीले बताए ।

कोरोना भाइरसको जोखिम उच्च रहेका बेला क्वारेन्टिनमा बसेकाबाटै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार भएकोप्रति खेद प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उनीहरुलाई कानूनबमोजिम कारवाही गरिने बताए ।

हिमाली गाउँपालिकाजस्तो दुर्गम ठाउँमा स्वास्थ्यकर्मी नै नपाइने अवस्थामा स्थानीयवासीले गरेको यस्तो व्यवहारप्रति आफू दुःखित भएको उनको प्रतिक्रिया छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले पनि घटनामा संलग्नलाई आवश्यक कारवाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ ।

हिमाली गाउँपालिकामा विभिन्न तीन स्थानमा गरिएको परीक्षणमा सोमबार तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ ।

(रासस)