भारतमा एकै दिन ११ हजार कोरोना संक्रमित थपिए

एजेन्सी

१ असार, नयाँ दिल्ली । भारतमा आज एकैदिन कोरोना भाइरसका संक्रमित साढे ११ हजार संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ५०२ नयाँ संक्रमित फेला परेका हुन् । अघिल्लो २४ घण्टामा पनि भारतमा करिब १२ हजार नयाँ संक्रमित फेला परेका थिए ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ३२ हजार ४२४ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि नौ हजार ५२० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ३२५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख सात हजार ९५८ संक्रमित फेला परेका छन् भने तीन हजार ९५० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४४ हजार ६६१ संक्रमित फेला परेका छन् भने ४३५ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४१ हजार १८२ जना संक्रमित भेटिँदा एक हजार ३२७ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २३ हजार ५४४ संक्रमित फेला परिसकेका छन् भने एक हजार ४७७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ६१५ संक्रमित फेला परेका छन् भने ३९९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ८७ संक्रमित भेटिएका छन् भने ४७५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ४७० संक्रमित फेला परेका छन् भने ३९ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ६९ हजार ७९८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।