पास नभएका सवारी साधनलाई नागढुङ्गाबाट नै फिर्ता

१ असार, काठमाडौं । गृहमन्त्रालयको उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय अनुसार आज असार १ गते काठमाण्डौं नाकाहरुमा कडा चेकजाँच कडा पारिएको छ ।

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीहरुले सवारी पास नभएका दुई पांग्रे तथा चार पांग्रे गाडीहरुलाई फर्काइदिएका छन् । हरेक गाडीहरुलाई रोकेर प्रहरीले जाँच गरिरहेका छन् ।

सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ ।

काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको थियो ।

गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ ।

त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्टि गर्ने कागजात समेत विचार गरी पास दिनेछ ।