कोरोना भाइरसको रोगथाम अमेरिका भन्दा रसियामा धेरै राम्रो

भ्लादमिर पुटिन

१ असार, काठमाडौं । रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले आइतबार रसियाको कोरोना भाइरस रोकथाम र व्यवस्थापन अमेरिकाको भन्दा धेरै राम्रो भएको बताएका छन् ।

उनले कोरोनाबाट रसियामा कम क्षति भएको र देश त्यसबाट निस्कने क्रममा रहेको बताउँदै कोरोनाको लडाईं अमेरिकालाई आन्तरिक राजनीतिले बाधा गरेको बताए ।

रसिया हाल अमेरिका र ब्राजिलपछि तेश्रो धेरै कोरोना संक्रमित भएको मुलुक हो ।

कोरोनाका कारण रसियामा हालसम्म ६ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ । यो संख्या अमेरिकासहित अन्य मुलुकको दाँजोमा कम हो । अमेरिकामा हालसम्म कोरोनाबाट १ लाख १५ हजार बढी मानिसको मृत्यु भइसकेको छ ।

यध्यपी रूसको कोरोना सम्बन्धी तथ्यांकमा धेरैले शंका व्यक्त गर्ने गरेका छन् ।

हामी यसमा सहज किसिमले काम गरिरहेका छौं र कम क्षतिसहित उम्कने क्रममा छौं ।
रसियाको राजनीतिक व्यवस्थाले संकटलाई अमेरिकी समकक्षीभन्दा राम्रो गरी व्यवस्थापन गरेको उनको दाबी छ ।

उनले रसियाले संघीय एवं क्षेत्रिय स्तरमा एकजुट भएर काम गरेको र अमेरिकामा जस्तो मतभिन्नता नरहेको बताए ।

हामी सरकारले वा राष्ट्रपतिले भनेको कुरा गर्दैनौ भनेर रसियामा कसैले भन्छ भनेर म कल्पना गर्न सक्दिन’, पुटिनले भने ।

पुटिनले भाइरसले अमेरिकाको गहिरो आन्तरिक समस्यालाई उजागर गरेको र यो राष्ट्रपतिमा ट्रम्पको जित र त्यसको वैधानिकतालाई अवमूल्यन विपक्षीहरूको प्रयास भएको बताए ।

अन्तरवार्तामा राष्ट्रपति पुटिनले देशको संविधान संशोधन उनको सत्ता लम्बाउन गरिएको प्रयास भएको आरोपलाई अस्वीकार गरे। उनले संविधान संशोधनपछि संसदसँग परिवर्तनका लागि अझ ठूलो भूमिका हुने भन्दै आरोपको खण्डन गरे ।

रसियामा संविधान संशोधनका लागि जुन २५ मा देशव्यापी मतदान हुँदैछ । संशोधनको पक्षमा नतिजा आए त्यसले ६७ वर्षीय राष्ट्रपति पुटिनलाई थप दुई कार्यकालका लागि राष्ट्रपति बन्ने बाटो खोलिदिनेछ । उनी सन् १९९९ देखि रसियाको सत्तामा रहँदै आएका छन्। संशोधनको विपक्षमा नतिजा आएमा भने सन् २०२४ पछि उनले रसियाको सत्ता छोड्नुपर्नेछ ।