Breaking News

निजी विद्यालयको विपक्षमा बोल्ने सांसदहरूको फोटो सार्वजनिक गर्ने : २०८४ मा भोट नहाल्नेसम्म चेतावनी

काठमाडौं । ‘स्वदेशमै शिक्षा दिन्छौं भन्दा, हाम्रो घाँटी न्याक्न खोजियो,’ निजी विद्यालय सञ्चालहरूले सोमबार संसद् भवन नयाँबानेश्वर अगडि लगाएको नारा हो यो ।

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरू सडकमा छन् । प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको नेतृत्वमा निजी विद्यालय सञ्चालकहरू माइतीघरमा भेला भएर संसद् भवन अगाडि पुगेका थिए ।

उनीहरूले निजी विद्यालयको विपक्षमा बोल्ने सांसदहरूको फोटो सार्वजनिक गर्ने र २०८४ मा भोट नहाल्नेसम्म चेतावनी दिएका छन् ।

संसद् भवन घेराउ गर्न काठमाडौं उपत्यकासहित आसपासका जिल्लाबाट निजी विद्यालय सञ्चालकहरू कालोपट्टी बाँधेर काठमाडौं आएका थिए । उनीहरूको एउटै स्वर थियो, ‘निजी विद्यालय गैरनाफामुलक हुन सक्दैन । पूर्ण छात्रवृत्ति दिन सक्दैनौं ।’

५ भदौमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गरेको थियो । समिति सभापति अम्मरबहादुर थापाले पारित भएको विधेयक ६ भदौमा संसद्‌मा पेस गरेका छन् । अब संसद्‌बाट विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू आन्दोलित भएका हुन् ।

‘स्वदेशमै गुणस्तरीय शिक्षा दिन्छौं, उद्यम गर्छौं, जनतालाई रोजगारी सिर्जना गर्छौं, राज्यलाई कर तिर्छौं भन्दा हाम्रो घाँटी न्याक्न खोजियो,’ प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानाले भने । मुख्यतः निजी विद्यालय सञ्चालकहरूले दुईवटा बुँदामा असन्तुष्टि राखेका छन् ।