Breaking News

मितेरी सहकारी ठगी प्रकरणका दुई जनालाई थुनामा पठाउन र एक जनालाई धरौटीमा छाड्ने आदेश

काठमाडौँ । मितेरी सहकारी ठगी प्रकरणका तीन अभियुक्त मध्ये दुई जनालाई थुनामा पठाउन र एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासले सुरेश अधिकारीलाई ७ लाख धरौटीमा छाडने आदेश गरेको छ भने ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादी बनाइएकोमा प्रहरीले ३ जना मात्र पक्रेर अदालतमा पेस गरेको थियो । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको पूर्वपत्नी ज्योति गुरुङसहित ५ जना फरार छन् ।

ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ, महाप्रबन्धक ज्योति गुरुङ र पक्राउ परेका ३ जना सहित ८ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको थियो ।

सहकारीको रकम अपचलनमा प्रहरीले ज्योति गुरुङ र भण्डारीसँग १७ करोड बिगो मागदाबी लिइएको थियो ।ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका सुरेश अधिकारी र सुवास खत्रीलाई प्रहरीले राष्ट्र बैङ्क ऐन र हुण्डी सम्बन्धी कसुरमा थप १३ करोड बिगो मागदाबी गरिएको थियो ।