काठमाडौं । महालक्ष्मी विकास बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चारजना पूर्वकर्मचारी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका–७ बस्ते ३५ वर्षीय सागर शाही, शैल्यशिखर–९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका–३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका–१ घर भई बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त रहेका छन् ।
उनीहरुलाई दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित शाखा कार्यालयबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैया २९ पैसा हिनामिना गरेको आरोपमा पक्राउ परेका हुन् । बैंकको भल्टमा रहेको नगद गैरकानुनी रुपमा भुक्तानी लिएर बैंकलाई नोक्सानी पु¥याएको उनीहरुमाथि आरोप छ ।
चार जना कर्मचारीको मिलेमतोमा बैंकलाई नोक्सानी पु¥याइएको भनी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गराई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

