कोरोना नियन्त्रणमा पत्रकारको भूमिकाबारे छलफल

प्रेस सेन्टरद्धारा पत्रकारहरुलाई ज्याकेट, मास्क, पञ्जा लगायत सामाग्री वितरणः निर्धक्कले कलम चलाउन आग्रह

३१ जेठ, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको नियन्त्रण तथा रोकथामको सन्दर्भमा फिल्डमा खटिएका पत्रकारहरुलाई आज एक कार्यक्रमबीच प्रेस सेन्टर नेपालले प्रेस ज्याकेट, माक्स, पञ्जा लगायतका सामाग्रीहरु वितरण गरेको छ ।

प्रेस सेन्टर नेपाल केन्द्रीय समितिद्धारा आज सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित ‘कोरोना प्रकोप नियन्त्रणमा पत्रकारको भूमिका विषयक छलफल तथा पत्रकार सुरक्षा सामाग्री वितरण कार्यक्रम’ बिच ति सामाग्रीहरु बाडिएको हो ।

महासंघको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीको प्रमुअ आतिथ्यता प्रेस सेन्टरको प्रदेश तीनका अध्यक्ष सुमन वाङ्देन लगायतको आतिथ्यता रहेको थियो ।

प्रेस सेन्टर नेपालको प्रदेश तीनका सचिव अरुणा मानन्धरले सञ्चालन गरेको उक्त कार्यक्रमबीच प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी, प्रदेश अध्यक्ष सुमन वाङ्देन र माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीले सहभागि पत्रकारहरुलाई प्रेस सेन्टर नेपालले तयार गरेको प्रेस ज्याकेट, पञ्जा, माक्स लगायतका सामाग्रीहरु वितरण गरेका थिए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब तीन दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो । राज्यले कोरोना प्रकोपसँगको लडाईमा खटिएका पत्रकारहरुलाई सरुरक्षा सामाग्री प्राप्त मात्रामा प्रदान नगरेको कारण पत्रकारहरु असुरक्षित ढंगले काममा खट्ने अवस्था आएको भन्दै कार्यक्रम सञ्चालनको क्रममा पत्रकार अरुणा मानन्धरले सरकारलाई त्यतातिर ध्यान दिन आग्रह गरिन ।

कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्दै प्रेस सेन्टरका अध्यक्ष जैसीले आफ्नो संगठनले कोरोना नियन्त्रणको सन्दर्भमा फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षित उपकरणको प्रवन्ध, विशेष उपचार कोषको व्यवस्था, नियमित स्वास्थ्य जाँचको निशुल्क र सहज व्यवस्था, सूचना संकलनमा सहजताको वातावरण निर्माण लगायतका मागहरु अघि सारेको भएपनि त्यसमा ध्यान नदिइएकाले रिपोटिङमा जाने पत्रकारहरु समस्यामा परेको परेको बताए ।

उनले कोरोना संक्रमणबारे हल्ला बढि र यथार्थ कम आउने गरेको उल्लेख गर्दै विश्वसनिय श्रोतबाट आउने, सत्य समाचारहरुबाट, त्यसबाट जोगिने उपाय तथा सावधानीबारे विज्ञहरुको सल्लाहबारे, विश्वमा अपनाइएको विधिहरुबारे समाचार सम्प्रेषण गर्न सकेमा कोरोनालाई जित्न सफलता मिल्ने बताए ।

सत्य समाचारले मानिसलाई कोरोनासँग लड्न हिम्मत दिने र सतर्कता अपनाउन सघाउने भएकाले कोरोना नियन्त्रणको अभियानमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने उनले प्रष्ट पारे । उनले जोखिम लिएर फिल्डमा उत्रिने पत्रकारहरुको सूरक्षा प्रवन्धमा राज्यले ध्यान नपुर्याउनु दुर्भाग्य रहेको तर्क गरे ।

उनले सरकारले पत्रकारको विषयमा ल्याएका बिमा लगायतका कार्यक्रमहरु स्वागत योग्य भएपनि महासंघमा निहित स्वार्थले गएका व्यक्ति विशेषको कारण आसेपासेले मात्र त्यस्ता सेवाहरु पाउने गरेको उनले बताए ।

उनले राज्य तथा महासंघ र सम्वद्ध अन्य निकायहरुबाट आउने सेवामूलक कार्यक्रमहरु वास्तविक फिल्डमा खटिने पत्रकारहरुसम्म पुग्दै नपुगि भागबन्डामा सकिने गरेको आरोप लगाए । उनले कोरोना बिमाको हल्ला समेत त्यस्तै भएको बताए ।

कोरोना प्रकोपको होस वा अन्य स्थानीय घटनाक्रमको होस् छिटो सूचना सम्प्रेषणमा साना तथा स्वरोजगारमूखि मिडियाले राम्रो भूमिका खेलेको भएपनि राज्यको सेवा सुविधा लिनेमा भने जहिले पनि फिल्डमा खटिने पत्रकारहरु छुट्ने प्रवृति गलत रहेको भन्दै सम्बन्धीत तहमा रहेकाले कुशल जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनको सुझाव थियो ।

त्यसैगरी उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै हुम्लाका पूर्व संसद समेत रहेका नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीले कोरोनासँग जित्नका लागि मानिसको मनोवल बढाउदै उच्च सतर्कता अपनाउनुपर्ने र त्यसमा पत्रकारहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताए ।

उनले कोरोना विरुद्धको लडाईमा जनचेतना बढाउदै अघि बढेका पत्रकारहरुको लागि राज्यले उचित रुपमा स्वास्थ्य उपकरणको प्रवन्धसम्म नगर्नु कथित कम्युनिष्ट नामधारी सरकारको लज्जाजनक काम भएको बताए । उनले पत्रकारहरुलाई आवश्यक पर्ने सुरक्षा उपकरण राज्यले विना पक्षपात सहज रुपमा दिनुपर्ने बताए ।

उनले भने–‘विश्वभरबाट दलाल पूजिवाद पतन हुँदै गएको अवस्था छ । तर हाम्रो देशमा कोरोना कहरको संकटपूर्ण अवस्थामा समेत भ्रष्टाचारी, दलालीमा राज्य संयन्त्र जोडिएको समाचारहरु आउछन, यसले समाजवाद निर्माणको यात्रालाई पश्चगमनतर्फ लिने आशंका बढेको छ । त्यसका विरुद्ध देशभक्त नागरिकहरु जाग्नुपर्ने विषम परिस्थिति आएको छ ।’

उनले सरकारले लिपुलेकसहितको नयाँ नक्सा ल्याउन लागेको विषय स्वागतयोगय भएपनि अमेरिकी साम्राज्यवादी योजनामा आएको एमसीसी गम्भीर राष्ट्रघाती सड्यन्त्र भएकाले त्यसलाई कुनैपनि हालतमा रोक्नुपर्ने बताए । उनले राष्ट्र र राष्ट्रियता नै नरहे कुनै पेशाकर्मि वा नेपाली नागरिक पनि नहुने भन्दै राष्ट्रघाती कदमको विषयमा समेत कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

आउने आषाढ २ गते दश दलिय मोर्चाद्धारा काठमाडौंको माईतिघरमा एमसीसी लगायतका राष्ट्रघाती सड्यन्त्रहरुको विरोधमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई सहभागि भै जनताको आवाज मिडिया मार्फत सम्प्रेषण गर्न समेत उनले आग्रह गरेका थिए ।

उनले राज्य असफलतातिर बढेको तर्क गर्दै भने–‘ओली सरकारको नीति तथा कार्यक्रमले पनि राज्य असफलतातिर गएको संकेत गरेको छ । सारा जनताहरु सरकारको गलत कदमको विरोधमा कोरोना प्रकोपको ख्याल नगरि सडकमा उत्रिने अवस्था आएको छ । यसमा हामी सचेत नागरिकले जिम्मेवारी बोद्यका साथ जनताको आवाजलाई साथ, सहयोग र समर्थन गरौं ।’

उक्त कार्यक्रममा बोल्दै प्रेस सेन्टरका प्रदेश तीन अध्यक्ष सुमनले सबैतिर छरिएका श्रमजिवि तथा आम जनपक्षिय पत्रकारहरु एक ठाउँमा उभिएर विभेदकारी कदमको विरुद्ध बोल्नुपर्ने तर्क गरे ।

उनले फिल्डमा उत्रिने पत्रकारहरुको पक्षमा महासंघ र अन्य संघ संगठनहरुले समेत एक आवाजमा बोल्नुपर्ने बताए । उनले पत्रकारलाई उचित मात्रामा विना भेदभाव सुरक्षा उपकरणहरु प्रदान गर्नुपर्ने नभएमा पत्रकारहरु समेत आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिए ।

उनले महासंघले वितरण गरेका विभिन्न सामाग्रीहरुमा समेत पक्षपातपूर्ण व्यवहार भएको भन्दै त्यसलाई सच्याउँदै सबैलाई अपनत्व हुनेगरि अघि बढ्न सकेमा मात्र महासंघको साझा चरित्रको विकास गर्न सकिने बताए । उनले सबै पत्रकारहरुलाई संगठित हुन समेत अपिल गरेका थिए ।

कोरोना प्रकोप नियन्त्रणमा पत्रकार, सुरक्षाकर्मि, चिकित्सकको टिम अग्रपंतिmमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको भएपनि काममा खटिएकाहरुको समस्या तथा सुरक्षा प्रवन्धमा राज्यले ध्यान दिन नसकेको भन्दै उक्त कार्यक्रमका सहभागिहरुले सरकारलाई सचेत बन्न आग्रह समेत गरे ।

त्यसका साथै प्रेस सेन्टर नेपालले देशभरका पत्रकारहरुको लागि आफ्नो संगठनले न्यूनतम रुपमा भएपनि कोरोनाबाट सुरक्षा हुने सामाग्रीहरु वितरण गर्ने बताएको छ । पछिल्लो समय प्रेस सेन्टर नेपाल देश, जनताको आवाज र पेशागत मुद्धामा निरन्तर कार्यक्रम गर्दे अघि बढेको देखिन्छ ।