मधेशवादीप्रति नश्लिय बोकेका चिन्तन हटाइदेऊ

राजेन्द्र महत्तो

३१ जेठ, काठमाडौं । आजको प्रतिनिधिसभा बैठकका बोल्ने क्रममा राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले जति असन्तुष्टि भए पनि देशको सवालमा एक ठाउँमा उभिने बताएका छन् ।

नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा उभिने निर्णय सुनाउँदै उनले मधेशी भनेपछि राष्ट्रियताको सवालमा प्रश्न उठाउने गरिएको बताए ।

मधेशी भनेपछि राष्ट्रियतामा शंका गर्ने ? नश्लिय चिन्तन बोकेकाहरू हटाइदेऊ, प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ’, उनले भने, ’विभेद गरे पनि सरकारले विभिन्न प्रकारले पीडा पु¥याए पनि सीमा रक्षाका लागि लडेको छ। मरेको छ ।

महतोले संविधानमा अझै पनि आफूहरूको फरक मत रहेको बताए ।

’हामीले प्रधानमन्त्रीलाई भन्यौं । नक्सा बनाउनु भयो । राम्रो गर्नुभयो । भूमि फिर्ता ल्याउने कुरा राम्रो कुरा गर्नुभयो’, महतोले भने, अगाडि बढ्नुहोस् । अब भूमि फिर्ता ल्याउने पनि कुरा गर्नुहोस् ।

जनताले संविधानका लागि ज्यान गुमाएको छ । संघर्ष गरेको छ । त्यो पनि राष्ट्रियताको कुरा हो’, महतोले भने, ’हामीले उठाएका विषय पनि ल्याइदिनुहोस् न । भूमि मात्र राष्ट्रियता होइन। जनता पनि हो ।

उनले प्रधानमन्त्रीले ’औचित्य र आवश्यकता’ का आधारमा संविधान संशोधन भन्ने गरेको तर कहिले हुन्छ? भन्दै प्रश्न गरे ।

संविधान संशोधनको सवाल आउँदा हिमाल पहाड तराईको जनताको भावना सम्झन आग्रह गरे ।

’पार्टी ठूलो भयो, दिल ठूलो बनाउनुहोस् भनेको थिएँ’, महतोले भने, ’अब होला कि । असन्तुष्टि थाती राख्दै राष्ट्रिय जनता पार्टीले नक्सासम्बन्धी प्रस्तावलाई सहर्ष समर्थन गर्ने बताए ।

महतोले महाकाली सन्धीको विषयमा समेत प्रश्न उठाए ।

महत्तोले महाकाली सन्धीका बेला त्यसको मुहान उल्लेख नगर्नु भूल भएको बताए ।

’राष्ट्रघाती को–को हो देशमा पहिचान गर्नुपर्छ। देश वेचुवाको खोजी
हुनुपर्छ । त्यो त हाम्रो छँदै थियो नि । कालापानी, लिम्पियाधुरा नेपालको नक्सामा थियो नि’, महतोले भने, ’५८ वर्षअघि कुन देश बेचुवाले देश बेच्यो ? श्वेतपत्र जारी गर्नुपर्दैन ?
उनले माहाकालीको मुहान पत्ता लगाउनु पर्ने बताए ।

’राष्ट्रघातीको पहिचान हुनुपर्छ । यो खोकला राष्ट्रवादी कुरा होइन’, महतोले भने, ’राष्ट्रघातीको पहिचान हुनुपर्छ । मधेशीलाई राष्ट्रघाती भन्ने राष्ट्रवादी नभन्ने। मधेशी जनतालाई राष्ट्रवादको नाममा औंला ठड्याउने काम नगरोस् । कतिचोटि परीक्षा दिने समेत बताए ।