सरकार ! आमाले भन्नुभा बेसार होइन पिसिआर नै चाहिन्छ रे ?

३१ जेठ, काठमाडौं । केही दिनयता नेपालमा सरकारको विरुद्धमा विरोधका आवाज निस्किरहेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको प्रभावकारी कदम नभएको भन्दै आज शनिबार पनि माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको छ ।

सरकारले आरडिटी परीक्षण रोकेर १०० प्रतिशत पिसिआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थितबनाउनुपर्ने र कोरोना नियन्त्रणमा भएको दश अर्ब खर्च विवरण सार्वजनिक गर्नुपर्ने मागसहित नागरिकस्तरबाट विरोध हुँदै आएको छ ।

माइतीघरमा प्रदर्शन भइरहेका बेला सरकारले कोरोना नियन्त्रणमा अहिलेसम्म भएका खर्चका विवरण सार्वजनिक गरेको थियो ।

शनिबार प्रदर्शनकारीले ‘लकडाउनः सरकारको दशैं जनताको दशा, नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद, १०० प्रतिशत पिसिआर, जनता मरेको टुलुटुलु हेर्ने राष्ट्रवाद हुन सक्दैन, सरकार आमाले भन्नुभा बेसार होइन पिसिआर नै चाहिन्छ रे, कोरोनाको अचार अदुवा, लसुन, बेसारः डा. केपी शर्मा ओली, मेलम्ची मागेको तर पानीको फोहोरा पाएँ’ लेखेका प्लेकार्डसहित प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएका एक नेपाली र केही विदेशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।