Breaking News

नेता शेखर कोइराला समूहको बैठक विशालनगरमा जारी

काठमाडौँ । नेपाली कांग्रेसको अनुसन्धान विभागले २०७९ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई घात हनेगरी कार्य गरेकालाई कारवाही गरेपछि सो कारवाहीमा संस्थापनइतर पक्षका नेताहरु परेपछि छलफलका लागि काँग्रेसको सो समूहका नेता शेखर कोइरालाको सचिवालयमा बैठक बसिरहेको छ। कोइरालाको विशालनगर स्थित सचिवालयमा बसिरहेको बैठकमा पार्टीको अनुशासन समितिले बुधबार गरेको अनुशासनको कारबाही बारे समूहको धारणा बनाउने छ ।

बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार नेताहरु बलबहादुर केसी सञ्जय गौतम र मन्त्रीहरू सहभागी रहेको कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिए।

कांग्रेसको अनुशासन समितिले बुधबार लुम्बिनी प्रदेशका पार्टी महामन्त्री विक्रम खनाल पूर्वमन्त्री कुमार खड्का सहितका २३ जनालाई अनुशासनको कारबाही गरेको थियो। संस्थापन पक्षले बहुमतको आधारमा आफ्नो समूहका नेतालाई मात्रै कारबाही गरेको भन्दै इतर समूह असन्तुष्ट छ।

अनुशासन समितिमा संस्थापन पक्षका संयोजक आनन्द ढुङ्गाना सहित तीनजना र इतर समूहका दुई जना छन्। कारबाही गरिएका २३ जना मा अधिकांश इतर समूहका नेता छन्।