कर्णालीमा ८३ जना कोरोना संक्रमित हुँदा २२ जना डिस्चार्ज

३० जेठ, सुर्खेत । कोरोना भाइरसका संक्रमित थपिने क्रममा कर्णालीमा आज शुक्रबार ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ८३ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ८२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार दैलेख अस्पतालबाट २२ जना डिस्चार्ज भएको महाशाखाले जनाएको छ ।