मलाई सन्चो छैन म बैठकबाट निस्किए

महन्ध ठाकुर

३० जेठ, काठमाण्डौं । हालै मात्र गठन भएको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ बनेको जनता समाजवादी पार्टी नेपाल भित्र बिरोध र असन्तुष्टिका आवाज निस्केका छन् । जेठ १५ गते निर्वाचन आयोगमा ५१ सदस्यी कार्यसमितिसहित दर्ताका लागि निवेदन दिएपछि पार्टीमा चरम असन्तुष्टि देखिएको हो ।

असन्तुष्टिका आवाज बाहिर आएपछि जसपा नेपालको पदाधिकारीको बैठक आज बसेको थियो । हिजो बिहीबार बसेको पदाधिकारी बैठकमा तत्कालिन राजपा नेपालका अधिकांश नेताहरुले असन्तुष्टि जनाएको विषयमा छलफल भएको
थियो । पार्टी दार्ताका लागि तयार पारिएको कार्य समितिमा त्रुटी भएको पनि पदाधिकारी बैठकले निष्कर्ष निकालेको
थियो ।

केन्द्रीय कार्यसमितिमा राजपा नेपालको तर्फबाट राखिएको नामावलीमा सबभन्दा असन्तुष्टि देखिएको छ । त्यसमा जातीय क्लस्टरदेखि लिएर अन्य कुराहरु पनि नमिलेको गुनासो तत्कालिन समाजवादी पार्टीका नेताहरुले गरेका थिए । कार्यसमितिमा नाम राख्न राजपा नेपालका नेताहरुबाट त्रुटी भएकै हो भन्दै त्यसलाई सच्याउन तत्कालिन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुझाव दिएका थिए । विशेष गरेर राजपा नेपालका अध्यक्षमण्डलका सदस्य रहेका अनिलकुमार झा र राजकिशोर यादवको टीमबाट एकजना नपर्नु त्रुटी भएको ठहर गर्दै महन्थ ठाकुरलाई त्यो सच्याउनका लागि यादवले सुझाव दिएका थिए ।

संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराईलाई नराखेको कारण पनि जनतामा नराम्रो सन्देश गएको समाजवादी पार्टीको ठहर छ । महन्थ ठाकुरकै कारणले संघीय परिषद्का अध्यक्ष स्वीकार गरिसकेका डा. बाबुराम भट्टराई वरिष्ठ नेतामा बस्नुपरेको पार्टीको बुझाइ छ । त्यसलाई पनि सच्याउनुपर्ने ती पार्टीका नेताहरुको माग गरेका छन् ।

महन्थ ठाकुर र राजेन्द्र महतोले राजपा नेपालको तर्फबाट कार्यसमितिमा आ–आफ्नै निकट मान्छेहरुको नाम राखेका
छन् । त्यसको आलोचना पनि पदाधिकारी बैठकमा भएको स्रोतले बताएको छ ।

पदाधिकारी बैठकमा अधिकांश समय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले नै बोलेका थिए । डा.भट्टराईले राजकिशोर यादव र अनिलकुमार झाप्रति अन्याय भएकै हो यसलाई सच्याउनुपर्ने धारणा राखेका थिए ।

निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिए पनि हालसम्म प्रमाणपत्र प्राप्त भएको छैन । निर्वाचन आयोगले पनि दर्ताका लागि पेस गरेको कागजातको अध्ययन गरिरहेको छ । जसपाका पदाधिकारी बैठकमा कुरा मिले कार्यसमितिलाई संशोधन गर्ने तयारी भएको छ ।

कार्यसमिति सच्याउने कुरा आएपछि महन्थ ठाकुरलाई आफ्नो धारणा राख्न भनिएको थियो । तर, महन्थ ठाकुरले आज आफूलाई सञ्चो छैन भन्दै बैठकबाट नै निस्केका थिए । उनी बैठकबाट निस्कएपछि कुनै निर्णय हुन सकेन ।