अर्घाखाँची मालारानीका ५७ बर्षीया मृतक पुरुषको कोरोना पुष्टि

दाहासंस्कार गर्न समस्या परेपछि लास सड्ने अवस्थामा

३० जेठ,बुटवल । जेठ २८ बुधबार मृत्यु भएका अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ४ खनमैदानका ५७ वर्षीय पुरुषको हिजो बिहिबार आएको स्वाव परिक्ष भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो

उनको शवलाई गाउँमै लगिएपनि स्वाव रिपोर्ट नआउँदा सम्म दाहसंस्कार गरिएको थिएन ।

मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले कोरोना पुष्टि भएपछि नेपाल सरकारले जारी गरेको कार्यविधि अनुरुप दाहसंस्कार गर्नुपर्ने भएपछि त्यसैको तयारीमा लागिएको तर दाहसंस्कारमा समस्या आएको उनले बताए ।

कोरोना पुष्टि भएपछि शव गाड्नु पर्ने भएपनि सुरूमा परिवारले सहमति नदिएपछि रोकिएको थियो भने त्यसपछि शव कहाँ गाड्ने भन्ने विषयमै सहमति नजुट्दा ढिलाइ भइरहेको छ ।

अहिले मालारानी वडा नं. ४ को दुई स्थान आरुकापाटा र ठूलढुँगा भन्ने स्थानमा खाडल खनि तयारी अवस्थामा राखिएको भएपनि शव कसरी लैजाने भन्ने विषयमै अलमलिएको अध्यक्ष आचार्यले जानकारी गराए ।

शव लैजान एम्बुलेन्स बोलाइएको भएपनि संक्रमणको डरको कारण अहिलेसम्म एम्बुलेन्स गएको छैन । नेपाली सेनाले समेत शव बोकेर लैजान डर मानिरहेको स्थानीयले बताएका छन् ।

आचार्यका अनुसार मृत्यु भएको दुईदिन बितिसकेको र गर्मी समयमा खुल्ला स्थानमा राखिएको कारण शव सडिसकेको छ ।

जेठ १४ गते भारतको मुम्बईबाट आएका उनलाई मालारानी गाउँपालिका वडा नं. ४ व्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उक्त क्वारेन्टिनमा उनीसहित ७ जना थिए ।

क्वारेन्टिनमा रहेको बेला अचानक स्वासप्रस्वासमा समस्या आएपछि उपचारको लागि बुटवल ल्याएको भएपनि कोरोना संक्रमणको डरले परिवारले अस्पतालको आईसोलेसनमा भर्ना गर्न डर मानेपछि एम्बुलेन्सबाट नझारी फर्काएर गाउँमै लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।