पोर्चुगलले नेसन्स लिगको उपाधि जितेको छ । अल्भारो मोराटाको निर्णायक स्पट किकमा रुबेन नेभ्सले पेनाल्टी सुटआउटमार्फत उपाधि हासिल गरेको हो ।
पोर्चुगल निर्धारित समयमा दुई पटक पछि परेको थियो तर दुई पटक गोलको बराबरी खेलेर खेललाई पेनाल्टीसम्म धकेलेको थियो । मार्टिन जुबिमेन्डीले पोर्चुगलविरूद्ध २१ मिनेटमा गोल गरेर स्पेनलाई अग्रता दिलाएका थिए भने त्यसको ५ मिनेटपछि नै उत्कृष्ट नुनो मेन्डेसले खेललाई बराबरीमा ल्याउन सफल भए । तर, गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए ।
पहिलो हाफमा स्पेनले २–१ को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा थप गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए । तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन ।
त्यसमाथि अतिरिक्त समयमा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा भने दिन सकेन् । अन्ततः खेल पेनाल्टी सुटमा जान विवश भयो ।
पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाएका थिए । अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो ।

