आरडिटी परीक्षण कम गर्ने तयारीमा सरकार

३० जेठ, काठमाण्डौ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी सरकार लागेको बुझिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र एन्टिबडी भए–नभएको पत्ता लगाउन आरडिटी गर्ने तयारी रहेको जनाएका छन् ।

’दुई हप्ता बढी समय क्वारेन्टिनमा बस्नु भएकाहरूको पिसिआर गर्नुपर्दैन । त्यो बेलासम्म शरीरमा एन्टिबडी बनिसकेको हुन्छ र त्यसपछि उहाँहरू संक्रमण अरूमा सर्ने संम्भावना पनि हुँदैन,’ उनले भने ।

डा. गौतमले क्वारेन्टिनमा १४ दिन पुगेका मानिसहरू छन् र त्यहाँ नयाँ मान्छे नथपिएको अवस्थामा पनि पिसिआर परीक्षण गर्नु नपर्ने बताए ।

सरकारले सुरूमै आरडिटी किट प्रयोगमा ल्याउँदा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको भन्दै विज्ञहरूले यसको प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका थिए । तर सरकारले भने पिसिआर भन्दा आरडिटी किटमै जोड दिएको थियो ।

अब मन्त्रालयले पिसिआर परीक्षणलाई कडाइ गर्ने पनि बताएको छ ।

निर्देशिकामा क्वारेन्टिनमा रहेकाहरूको लक्षण देखिए मात्र पिसिआर गरिने कुरा उल्लेख छ। विज्ञहरूले भने यो नीतिले संकट आउनसक्ने जनाएका छन्।

कोरोनाको अधिकांश संक्रमितहरूमा लक्षण नदेखिएको भन्दै यसले संक्रमितहरू नै परीक्षण हुनबाट वञ्चित हुने उनीहरूको दाबी छ। सरकारले भने प्रयोगशालाहरूको क्षमताले नधान्ने स्थिति आएपछि परीक्षणलाई खुम्च्याउने कदम चालेको छ।