गण्डकी प्रदेशमा आज बिहानै ३७ जनामा कोरोना पुष्टि

३० जेठ, पोखरा । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहानै गण्डकी प्रदेशमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपालिकामा सबैभन्दा धेरै १८ जना संक्रमित फेला परेका छन् । उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका
छन् ।

यसैगरी वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ ।

स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको डा. शर्माले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिकामा ८ जना तथा पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का एक जना संक्रमितको पनि स्थानीय तह खुलेको छैन ।

तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवक पनि कोरोना देखिएको बताइएको छ ।