प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो चक्रपथको ग्यार्कोमा ओभरपासको उद्घाटन गरे।
हालै सम्पन्न भएको ओभरपासमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली उद्घाटन गर्न गएका थिए ।
इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो ओभरपास नेपालकै पहिलो हो।
कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ। ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो ओभरपास निर्माण भई उद्घाटन हुनु खुसीको कुरा हो भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताए।
उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे।
‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौं। हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो। तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ। त्यसको उत्खननको सुरूआत पनि मैले नै गरेको थिएँ। धौवादी फलाम कारखाना सुरू भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ। ठूलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ। अरू खनिजको उत्खनन् गर्नेछौं।
कृषिको आधुनिकीकरण गर्नेछौं। नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौं। हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन। आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ।

