Breaking News

बर्दघाट सुस्तापूर्वको दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ।

वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ।

यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन्।

बिहीबार राति काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो। बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो।

उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले घटनाको सम्झना गर्दै भने, ‘मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान् सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।’

एकतीस वर्षीय शिवनारायण थारु काठमाडौँबाट बर्दिया जाँदै गर्दा डाइभर्सनमा फसेका थिए। उनले बाढी देखेर आत्तिएर खोलामै हाम फालेर पौडिँदै ज्यान जोगाएका थिए।

सडक अवरुद्ध भएपछि यात्रुले घन्टौं पैदल यात्रा गर्न थालेका छन्। लामो दूरीका सवारी चालक गाडीमै रात बिताउन बाध्य छन्। जङ्गलबीचमा खाना र पानी नपाउने अवस्था सिर्जना भएको छ। मालवाहक गाडी सडकमा अलपत्र परेका छन्।

यात्रुहरूको पीडा देखेर विनयी त्रिवेणी गाउँपालिका–१ का स्थानीय युवा, व्यवसायी र सामाजिक सङ्घसंस्थाले शुक्रवार दिनभर निःशुल्क खानाको व्यवस्था गरेका छन्। दुम्कीवासमा स्थानीयले भात, दाल तरकारी र शुद्ध पानी निःशुल्क वितरण गर्दै यात्रुलाई राहत दिइरहेका छन्।