रुकुम घटना संसदीय बिशेष छानबिन समितिद्धारा घटनाका बारेमा छलफल शुरु

२९ जेठ, काठमाडौं । गत जेठ १० भएको रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ । विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारिक रुपमा भेटगरी छलफल सुरु गरेको हो । समितिका संयोजक देवेन्द्र पौडेलले अनौपचारिक रुपमा यसअघि नै कुरा भएको र आजदेखि औपचारिक छलफल सुरु भएको बताए ।

उनले संविधान संशोधनका लागि मतदान गरेलगत्तै घटनाको अध्ययन अनुसन्धानका लागि रुकुमको चौरजहारी जाने बताए । उनले भने, ‘अनौपचारिक रुपमा त पहिले पनि कुरा गरेका थियौं र हामी प्रारम्भिक छलफल सुरु गरेका छौं । कार्यविधि बनाउनेदेखि लिएर सबै निकै गम्भिरतापूर्वक सम्मानित सदनले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं । यो नेपालको खासगरी अनुसूचि फेरेर संविधान संशोधन गर्ने र नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपाल भित्र ल्याउने ऐतिहासिक दिन भएको हुँदाखेरी त्यो दिनमा भोट हालेर हामी लगत्तै त्यसपछि सम्मानित सदनले दिएको जिम्मेवारी कार्यदल (संसदीय समिति)को जिम्मोवारी पुरा गर्नको निम्ति हामी जाने छौं ।

प्रतिनिधिसभाले रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानविनका लागि जेठ २६ गते सोमबार संसदीय विशेष समिति गठन गरेको थियो । समितिको संयोजकमा नेकपाका सांसद देवेन्द्र पौडेल रहेका छन् भने सदस्यहरुमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाईली (स्नेही), बिमला विक, महेश्वरजङ्ग गहतराज (अथक), मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् । संसदीय विशेष समितिले रुकुमको चौरजहारीमा भएको घटनाको अनुसन्धान कार्य प्रारम्भ भएको मितिले तीस दिनभित्रमा सम्पन्न गर्नुपर्ने
छ ।