Breaking News

भारतमा एयर इन्डियाको विमान दुर्घटना सबै यात्रुको मृत्यु

२९ जेठ, काठमाडौं । भारतमा एयर इन्डियाको विमान दुर्घटना भएको छ सो दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित सबै यात्रुको मृत्यु भएको छ ।

आज दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । ती सबै यात्रुको मृत्यु भएको हो ।

दुर्घटनामा कोही पनि जिवित भेटिने आशा नदेखिएको अहमदाबादका पुलिस कमिश्नर जीएस मलिकको भनाइ उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

दुर्घटनामा परेको विमान बोइङ ७८७–८ एयरक्र्याफट हो । दिउँसो १ः३८ बजे (भारतीय समय) रने–वे बाट टेक अफ गरेको विमान १ः४० मै तल खसेको थियो ।

अहमदाबादबाट बेलायतको राजधानी लन्डनको दक्षिणमा रहेको ग्याटविक विमानस्थलकमा लागि एयर इण्डियाको विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरुको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरु समेत गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार, अहिले स्थानीय अस्पतालमा १०० भन्दा बढी शवहरु छन् । तिनलाई पोस्टमार्टमका लागि पठाइएको भनिएको छ । घटनास्थलबाट सार्वजनिक भएको तस्वीर र भिडियोहरुमा विमानको केही भाग होस्टल भवन वरिपरि छरिएको देखिन्छ ।

विमानको पुच्छरपट्टीको भाग भवनको छतमा अड्किएको तस्वीरहरु आएका छन् ।

भारतीय अधिकारीहरुका अनुसार, दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २४२ जना यात्रु सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली रहेको एयर इन्डियाले जनाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले नेपाली नागरिक समेत हुनसक्ने आशंकामा भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो । त्यसक्रममा भारतीय अधिकारीहरुले एउटा सूची पठाएका थिए, त्यसपछि विमानमा नेपाली नरहेको पुष्टि भएको थियो ।

एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले यो घटनालाई ‘विपत्तिपूर्ण दुर्घटना’ भनेका छन् । बेलायतका राजा चार्ल्सले विज्ञप्ति जारी गर्दै धेरै बेलायती नागरिक समेत सवार रहेको विमान दुर्घटना भएको भन्दै दुःख व्यक्त गरेका छन् ।