-एजेन्सी
काठमाडाैँ। लण्डनतर्फ उडेको एयर इन्डियाको विमान अहमदाबाद विमानस्थलबाट उडेको केही समयमै दुर्घटनामा पर्दा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी २०४ जना यात्रुका निधन भएको समाचार आएको छ । केन्द्रीय मन्त्री सीआर पाटिलले पूर्व मुख्यमन्त्रीको मृत्युको पुष्टि गरेका छन्।
विजय रुपाणीले सन् २०१६ को अगस्टमा आनन्दीबेन पटेलको आकस्मिक राजीनामापछि गुजरातको मुख्यमन्त्रीको रूपमा पदभार सम्हालेका थिए। उनले सन् २०२१ मा पदबाट राजीनामा दिएपछि भूपेन्द्र पटेल गुजरातका १७ औँ मुख्यमन्त्री बनेका थिए।
गृहमन्त्री अमित शाहका नजिकका विश्वासपात्रका रूपमा चिनिएका रुपाणी पहिलोपटक राजकोट पश्चिम क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । त्यसबेला उनी भाजपाका राज्य अध्यक्ष तथा एक मन्त्री थिए । केन्द्रिय नेतृत्वले उनलाई आनन्दीबेन पटेलको उत्तराधिकारीको रूपमा चयन गरेको थियो।
उनको सार्वजनिक जीवन राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) को विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) सँगको आबद्धताबाट सुरु भएको थियो। उनी सन् १९८० मा भारतीय जनता पार्टी (भाजपा) गठन भएदेखि नै सो पार्टीसँग आबद्ध थिए।
आपतकालको विरोध गर्दै आन्दोलनमा सहभागी भएका कारण उनी जेलसमेत गएका थिए। रुपाणी सन् २००६ देखि २०१२ सम्म राज्यसभाका सदस्यसमेत रहेका थिए।

