निसाना छाप सम्बन्धी संशोधन प्रस्ताव फिर्ता नलिए कारवाही गरिने

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई कारबाहीको चेतावनी दिएको छ ।

समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म दुवै दलले संसदभित्र एउटै दलको मान्यता पाएका छैनन् ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीका तर्फबाट गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।

’हामीले दललाई नसोधिकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौं’, ’ यदि उनले फिर्ता नलिए पार्टीका तर्फबाट कारबाही गर्ने उल्लेख गरिएको ।

गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विरोध जनाएकी थिइन् ।

उनले संशोधनमा लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको बताएकी थिइन्। त्यसअघि प्रतिनिधिसभा बैठकमा समेत उनले त्यस्तै धारणा राखेपछि सांसदहरू उनीविरूद्ध खनिएका थिए ।

भारत बिहारको हाजिपुर–सोनपुरमा जन्म भएकी गिरीलाई लक्षित गर्दै नेकपाकी सांसद गंगा चौधरीले केही दिनअघि ‘भारतीय चेली’ को संसदमा दादागिरी देखिएको टिप्पणी गरेकी थिइन् । जसलाई हटाउन उनले संसदमा सभामुखसमक्ष माग गरेकी थिइन् ।

सरकारले नेपालको संविधानको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची–३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको हो ।

उक्त संशोधनको माथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन् ।

गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भू–भाग नेपालको भएको भन्ने प्रमाण नभएको पटक–पटक मिडियामा भन्दै आएकी छन् ।