Breaking News

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

१३ जेठ, पोखरा । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई दुबै जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । इमेज सहकारी खोलेर जनताको बचत रकम अपचलन गरेको प्रकरणमा बागलुङपछि कास्की जिल्ला अदालतबाट पनि उनलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश भएको हो ।

असोज १५ गते बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि कारागार चलान भएका देवकुमारलाई सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेस्बासेको इजलासले पनि थुनामै राख्ने आदेश गरेको छ ।

जनताको बचत रकबाट समाजमा ठूलो रवाफ देखाउनेदेखि आफ्ना नाममा बागलुङ, पोखरा, काठमाडौं, नवलपुर, चितवनजस्ता ठाउँमा घरजग्गा जोड्ने, हेलिकप्टरमा सवार गर्ने गरेको उनीमाथि आरोप थियो ।

२०६८ सालमा पोखरा सिर्जनाचोक र २०६९ सालमा बागलुङमा आफ्नै नेतृत्वमा सहकारी खोलेका देवकुमारले एकाएक धनाड्यका रुपमा देखा परेका थिए । यहीबीचमा उनले बागलुङ बजार, बुर्तिबाङ र पोखरामा ठूला ठूलो भवनहरुसमेत टठ्याएका थिए । नेकपा माओवादीबाट टिकट नपाएपछि रातारात एमाले प्रवेश गरेर टिकट पाएर २०७४ सालमा ढोरपाटन नगरपालिकाको मेयर जितेका नेपालीले २०७९ सालको चुनावमा पनि एमालेबाट दोस्रोपटक मेयर जितेका थिए ।

नेपालीले सहकारीको रकम लगेर घरजग्गादेखि व्यक्ति मोजमस्ती र सहकारीको अनुशासनबाहिर गएर रकम अपचलन गरेको अध्ययनबाट खुलेको थियो ।

एउटा बदमासी छोप्न एकपछि अर्को बदमासी गर्दै जाँदा चरम संकट परेपछि बचतकर्तालाई रकम फिर्ता गर्ने बाचा गरेर मेयर नेपाली ५ जेठ २०८० मा फरार भएका थिए । त्योभन्दा ३ दिन अगाडिमात्र उनले पोखरा महानगरको समन्वयमा सिर्जना चोकको इमेज सहकारी बचतकर्तालाई रकम फिर्ता गर्ने बाचा गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएका कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र बुझाएर सम्पत्तिको रक्षा गर्न आग्रह गर्दै फरार भएका थिए । फरार भएको १५ महिनापछि असोज ११ गते नेपालीलाई दिल्लीबाट पक्राउ गरी जहाजमार्फत नेपाल ल्याएर बागलुङ पुर्‍याइएको थियो ।

बागलुङ र पोखरामा एउटै नामको छुट्टाछुट्टै सहकारी खोलेका देवकुमारलाई छुट्टाछुट्टै अभियोजन दर्ता गरिएको
थियो ।

नेपालीले बागलुङमा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै बिगो दाबी गरेर अदालतमा अभियोग दायर भएको थियो भने पोखरामा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो माग दावी गर्दै २०८० भदौ १२ गते देवकुमारसहित १५ जनालाई विपक्षी बनाएर अभियोग कास्की जिल्ला जिल्ला अदालतमा दर्ता भएको थियो ।

सहकारी ठगी मुद्दा बागलुङ कारागारमा रहेको देवकुमारलाई कास्की अदालतबाट पनि त्यही थुनामै रहने गरी आदेश गरिएको छ । पोखराको इमेज सहकारी ठगी प्रकरणमा बेल्बासेको इजलासमा आइतबार बयान गरेर सोमबार भएको थुनछेक बहसपछि उनलाई थुनामा पठाउने आदेश भएको हो ।