१२ जेठ, काठमाडौं । राजावादीहरुले राजा ल्याउने भन्दै गणतन्त्र दिवसको दिन जेठ १५ गतेदेखि अनिश्चित कालिन आन्दोलनको घोषणा गरेपछि सत्ताको नेतृत्व गरेको नेकपा एमालेको सचिवालयको बैठकले राजावादीको काउण्टरका लागि १५ जेठका लागि प्रदर्शनको तयारी गरेको छ । सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रुपमा देशभर मनाउने निर्णय पनि गरेको थियो ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममा गणतन्त्र दिवसका दिन तीन घण्टा काठमाडौंको सडक एमालेको कब्जामा हुनुपर्ने बताएका छन् । बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजधानीका सडक कब्जा गर्नेगरी तयारीमा जुट्न निर्देशन दिएका छन् ।
‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्,’ प्रधानमन्त्री ओलीको निर्देशन थियो, ‘म साथीहरूलाई आग्रह गर्न चाहन्छु, निर्देशन पछि आउँछ । तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नु होला ।’
प्रधानमन्त्री ओलीको भाषणपछि बसेको एमाले सचिवालय बैठकले गणतन्त्र दिवस उत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।
सचिवालय बैठकपछि प्रधानमन्त्री ओलीले प्रेस चौतारी नेपालका पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
‘जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकराणका पक्षमा हामी छौं र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुपर्छ’, प्रधानमन्त्री ओलीको निर्देशन दिए ।
सचिवालयको निर्णय र प्रधानमन्त्री ओलीको निर्देशनपछि केन्द्रीय कार्यालय च्यासलमा जनसंगठनका अध्यक्षहरू, इन्चार्जहरू र उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूको भेला बस्यो। महासचिव शंकर पोखरेलले नेतृत्व गरेको यो भेला १५ जेठको तयारीमै केन्द्रीत थियो ।
भेलाले राजधानी उपत्यकामा गणतन्त्र दिवसका दिन जनपरिचालनको तयारीबारे निर्णय गरेको छ । निर्णय अनुसार जनपरिचालनको तयारीमा लगभग सबैजसो पदाधिकारी परिचालित हुनेछन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई काठमाडौं जिल्लाबाट जनपरिचालनको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । ललितपुरको संयोजन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, भक्तपुरको संयोजन उपाध्यक्ष गुरु बराल र उपत्यका बाहेकका बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूको संयोजन अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले गर्नेछन् ।
जनसंगठनहरूको संयोजन सचिव गोकर्ण विष्टले गर्नेछन् । सम्पर्क मञ्चहरूको पनि भूगोल अनुसार पार्टी पदाधिकारीहरूलाई संयोजनको जिम्मेवारी दिइएको छ ।
उपाध्यक्ष रामबहादुर थापा बादललाई कोशी, उपाध्यक्ष युवराज ज्ञवालीलाई मधेश, उपमहासचिव प्रदीप ज्ञवालीलाई बागमती, सचिव पद्या अर्याललाई लुम्बिनी र गण्डकी र सचिव लेखराज भट्टलाई कर्णाली र सुदूरपश्चिम प्रदेशको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । सचिव योगेश भट्टराईले उपत्यका विशेषको संयोजन गर्नेछन् ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार रहेका उपमहासचिव विष्णु रिमालले स्वयंसेवक परिचालनको जिम्मेवारी पाएका
छन् । अर्का सचिव छबिलाल विश्वकर्मालाई सबै विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । एमालेले सरकारमा रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बाहेक सबै पदाधिकारीले जनचालन संयोजनको जिम्मेवारी दिएको छ ।
पार्टीका सम्पूर्ण पदाधिकारी नै परिचालित गर्नुको अर्थ एमालेले १५ जेठलाई विशेष महत्व दिएको प्रष्ट हुन्छ ।
तर त्यही दिनबाट राजावादीहरूले पनि आन्दोलनको घोषणा गर्ने तयारी गरिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामा राजावादीहरू एकताबद्ध देखिएका छन् । राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट लगायत एकजुट भएर आन्दोलन सुरु गर्ने तयारीमा छन् ।
राजावादीहरू एकताबद्ध भएर आन्दोलन अगाडि बढाउने भएपछि त्यसको प्रतिवादमा एमाले उत्रने देखिएको छ ।

