जसपा दर्ता सँगै विभाजनको बिजारोपण

२७ जेठ, काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपाल दर्ता सँर्गै विवाद उत्पन्न भएको छ । दुई अध्यक्षसहित ५१ सदस्यीय कार्यसमिति सहित यही जेठ २५ गते निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । पार्टी दर्ता सँगै थुप्रै नेताहरु असन्तुष्ट बनेका थिए ।

असन्तुष्ट नेता तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्यहरु अनिलकुमार झा र राजकिशोर यादव निर्वाचन आयोग नै पुगेनन् । ५१ सदस्यीय कार्यसमितिमा आफ्नो मान्छे नपरेको कुरामा उनीहरु लगायत तत्कालिन राजपाकै शरतसिंह भण्डारी, महेन्द्रराय यादव पनि असन्तुष्ट रहेका छन् । उनीहरुको आज छुट्टै बैठक बसिरहेको छ ।

कार्यसमितिमा राजपा नेपालको तर्फबाट नाम राख्दा महन्थ ठाकुर र राजेन्द्र महतोले मनपरी गरेको आरोप लगाएका
छन् ।

राजपा नेपाल ६ वटा पार्टी मिलेर बनेको पार्टी हो । त्यसमा सबैको बराबरको अधिकार छ तर महन्थ ठाकुर र राजेन्द्र महतोले जसपा नेपालको केन्द्रीय समितिमा अधिकांश आफ्नै मान्छे मात्र राखेका छन् । महन्थ ठाकुरले आफ्नो तर्फबाट नौजना र राजेन्द्र महतोले आठजना नेता राखेका छन् ।

शरतसिंह भण्डारी र महेन्द्र राय यादवको दुई दुईजना राखिएको छ भने अनिलकुमार झा र राजकिशोर यादवका एकजना नेता पनि परेका छैनन् ।

उनीहरुका अनुसार कार्यसमितिमा दलित, मुस्लिम, आदिवासी जनजाति, महिलालगायतलाई स्थान नदिएको गुनासो छ ।

आज असन्तुष्ट पक्षहरुको छुट्टै बैठक भइरहेको र सो बैठकमा कुनै नकुनै निर्णय बाहिर ल्याउने तयारी गरिरहेको नेताहरुले बताएका छन् ।

त्यस्तै, तत्कालिन समाजवादी पार्टीमा पनि असन्तुष्टि बढेको छ । समाजवादी पार्टीमा मधेशी नेताहरुलाई किनारा लगाएर अधिकांश नेताहरु अशोक राई र डा.बाबुराम भट्टराईको टीमबाट नाम राखिएको भन्ने गुनासो छ । मधेशमा आन्दोलनमा ठूलो बलिदान पछि निर्माण भएको मधेशी जनअधिकार फोरम हुँदै समाजवादी पार्टीमा मधेशी नेताहरुलाई कुनै स्थान नदिएको गुनासो असन्तुष्ट नेताहरुले जनाएका छन् ।