अछामबाट हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेजमा उपचार गर्न गएकी गर्भवती महिलालाई कोरोना पुष्टि अस्पताल बुधबारसम्मका लागि बन्द

२७ जेठ, काठमाडौं । बाँके जिल्लास्थित कोहलपुर मेडिकल कलेजमा उपचार गर्न गएकी एक जना गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अछामकी चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा २५ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

अस्पतालका डा. दिनेश श्रेष्ठले बताएअनुसार अहिले संक्रमितको स्वास्थ्य स्थिति स्थिर छ । अस्पताललाई डिइन्फेक्सन गर्न आज इमर्जेन्सी र ओपीडी सेवा बन्द गराएका छौं, भर्ना भएका विरामीलाई भने नियमित सेवा दिइरहेका छौं ।

श्रेष्ठका अनुसार बुधबारबाट अस्पताल पुनः नियमित रुपमा सुचारु हुनेछ । संक्रमित महिलाकी एक जना आफन्तका अनुसार उनी १५ दिनअघि भारतको मुम्बईबाट आएकी थिइन् ।

१८ हप्ताको गर्भवती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो ।