भरतपुर अस्पतालमा कोरोना संक्रमित ६८ बर्षीय बृद्धको मृत्यु

जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रिटिकल अवस्थाको बिरामी सारेको भन्दै प्रमुख जिल्ला अधिकारीको आपत्ति

२७ जेठ, चितवन । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्ने क्रमसँगै आज बिहान भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ रिफर गरिएका ति संक्रमितको मृत्यु भएको बुभिएको छ ।

आज मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ ।

भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्या थियो ।

जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रिटिकल अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले आपत्ति जनाएका छन् । नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले आफूहरुले बिरामी नसार्न भन्दाभन्दै सारिएको बताए । मेसु तिवारीले बिरामी ल्याउँदा समेत सावधानी नअपनाएको बताए । नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य चार जना कोरोना संक्रमितसँगै राखिएका थिए ।