Breaking News

आन्दोलनरत शिक्षकहरूले आन्दोलन जारी राख्ने

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । शुक्रबार राति भएको प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि उनीहरुले आज पनि आन्दोलन जारी राख्ने भएका हुन् ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो ।

माग सम्बोधन गर्नेबारे प्रधानमन्त्री ओली सकारात्मक देखिएका थिए । तर, शिक्षकहरूले सानातिना लेनदेन गरी आन्दोलन नरोकिने भन्दै शिक्षा ऐन जारी गर्नु नै आफूहरूको बटमलाइन हुने भनेपछि शिक्षक राति साढे एक बजे रित्तोहात फर्किएका थिए ।
त्यसपछि सुवेदीले आन्दोलन तत्काल रोक्न नसकिने भन्दै आज शनिबार पनि दिउँसो १२ बजे माइतीघरमा भेला हुन शिक्षकहरूलाई आग्रह गरेका छन् ।

सरकारले वैशाख १२ गते शुरु हुने संसदको बर्खे अधिवेशनमार्फत ऐन जारी गर्ने योजना बनाएको छ । तर, ऐन हातमा नपरेसम्म कार्यस्थल नफर्किने शिक्षकहरूको अडान छ ।