काठमाडौं । धादिङमा ट्रक र बोलेरो गाडी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्र ३–०१–०२३ च ६५८ नम्बारको बोलेरो गाडी पृथ्वी राजमार्गअन्तर्गत एक्लेफाँटमा यूपी ३२ टीएन ४१९८ नम्बरको ट्रकसँग ठोक्किँदा एक यात्रुको मृत्यु भएको हो ।
दुर्घटनामा ललितपुरको बागमती गाउँपालिका–१ का ३४ वर्षीय थुलबाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुवास हमालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर ल्याइएको थियो । तर उपचारका क्रममा आज बिहान २ बजेतिर उनको मृत्यु भएको हो । बोलेरो गाडीमा रहेका चालकसहित अन्य ५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि भारतीय ट्रक र चालक ४० वर्षीय कमलेश कुमार यादवलाई धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित पृथ्वी लोकमार्गको जोगिमाराबाट नियन्त्रणमा लिइएको छ ।

