प्रदेश दुईको सप्तरीमा एउटै स्थानीयका १६ जनामा कोरोना संक्रमित देखिए

२६ जेठ, सप्तरी । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज सप्तरीको एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् । बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् ।

यो सँगै सप्तरीमा संक्रमितको संख्या ९३ पुगेको छ ।