अश्विन दानी
हाम्रा शास्त्रहरुले स्पष्ट भनेका छन्, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक, र सांस्कृतिक लगायत क्षेत्रमा हुने अधर्म, असत्य, अन्याय, अत्याचार, अहंकार, लोभ, क्रोध र अज्ञानता जस्ता कर्महरूको परिणामस्वरूप समाजमा अशान्ति, द्वन्द्व, र युद्ध उत्पन्न हुन्छ ।
महाभारतमा भनिएको छ;
अधर्मो हि समुत्थाय हन्ति धर्मं सनातनम्।
धर्मो वृत्तो हि निहन्ति अधर्मं स पुनः पुनः॥
अर्थात्; जब अधर्मले प्रबलता पाउँछ, तब त्यो सनातन धर्मलाई क्षति पुर्याउँछ। तर जब धर्म बलवान् हुन्छ, त्यो अधर्मलाई पुनः पुनः नष्ट गर्दछ।
अहिले नेपालको वर्तमान राजनीतिक र सामाजिक द्वन्द्वलाई यस श्लोकले स्पष्ट पार्छ । हाे वास्तवमा नेपाल र नेपालीको ऐतिहासिक राष्ट्रिय पहिचान र राष्ट्रिय गाैरवलाई अधर्मकाे जगमा, अत्याचारको जगमा, अन्यायपूर्ण तरिकाले षड्यन्त्रपुर्वक ढंगबाट तहसनहस बनाईएकाे जगजाहेर छ ।
आज देशको आर्थिक, सामाजिक, राजनीतिक सँगै समग्र परिस्थिती कस्तो छ ? आम नागरिक सरकार र नेतृत्वसँग कति खुसी छन् ? को खुसी छन् ? त्यो सायदै मैले भनिराख्नु नपर्ला !
जनताका जनजीवन बदल्ने, देशमा सम्बृद्वि र बिकास ल्याउने जस्ता झुट्टा सपना देखाएर आम सर्वसाधारण नेपालीकाे रगतले मातृभूमि लत्पत्याउँदै यिनिहरुले नै आफू धनी बन्ने, आफ्ना परिवार सम्पन्न बनाउने र निरन्तर सत्ता र शक्तिमा बसेर राजकीय जीवन बिताउनका लागि पटकपटक अनेकौं वाहनामा तन्त्र (व्यवस्था) फेरे !
यिनिहरु अर्थात्, आफुलाई गणतन्त्र र लाेकतन्त्रकाे ठेकेदार मान्ने नेताहरु, जाे निरन्तर सम्पति, सत्ता र शक्तिकाे लागि नेपाली जनताका आँखामा भ्रमकाे खेति गर्दै दशकाैँदेखि मुलुकमा शासनमा गरिरहेका छन् ।
हिजो तीनकुनेमा के भयो ? देशमा गणतन्त्र हाेईन्, हिन्दुअधिराज्य चाहिन्छ भनेर प्रदर्शनका लागि सडकमा आएका एक नेपालीले राज्यको (प्रहरीले हानेको) गाेली खाएर मरे । प्रहरी सँगकाे दाेहाेराे झडपमा प्रदर्शनकारीले लगाएको आगाेमा जलेर दुई नेपाली जनता मर्न बाध्य भए । अझै निर्मम तरिकाले भन्दा हत्या भयो ।
हत्यारा काे हाे ? जवाफ कस्ले दिने ?
तर, सरकार, गृहप्रशासनसहित आफुलाई लाेकतन्त्रवादी र गणतन्त्रवादी राजनीतिक दल र त्यसकाे नेतृत्व (नेता) भनेर स्वघाेषणाा गर्ने गरेकाहरु भन्छन्, `उक्त प्रदर्शनकाे आयाेजक र पुर्वराजा नै हत्यारा हुन् ।´
उनीहरुको साेहि दाबि अनुसार हत्या/ज्यान मार्ने कसुरसहित अन्य विभिन्न कसुरमा कारवाही गर्नका लागि सरकारले सयौं राजावादी समर्थकहरु जाे प्रदर्शनमा थिए उनीहरुलाई पकाउ गरिसक्याे । थपलाई पक्राउ गर्ने क्रम जारी राखेकाे छ । घाेषित, अघाेषित नजरबन्दमा थुप्रै छन् ।
त्यो प्रदर्शन सहि थियो या गलत ? प्रदर्शनका नेतृत्व गर्नेहरुका व्यक्तिगत चाहाना के थिए ? कमजोरी के थियोे ? स्वार्थ के थियो ? अनि गणतन्त्र सहि या राजतन्त्र ? त्याे अर्को बहस काे कुरा हाे । यसमा पछि बहस गराैँला ।
तर, एकपटक साेचाैँ त ! के त्याे गाेली खाएर मर्ने आम नेपाली होइन ? जिउँदै जलेर मर्ने सामान्य श्रमजीवी पत्रकार (क्यामेरा म्यान) हैन ? सुरक्षाकर्मीकाे गाेली लागेर, अश्रुग्यासका कारण, लाठीचार्जका कारण वा प्रदर्शनकारीले प्रहार गरेकाे ढुङ्गा लागेर घाइते हुने सुरक्षाकर्मीहरु याे देशको सामान्य परिवारका सर्वसाधारण नागरिक हैनन ? याे घटनाबाट कस्लाई फाइदा पुग्यो ? काे खुसी छन् ?
गृहमन्त्रालयले गत १५ गते साँझ पत्रकार सम्मेलन गर्दै दिएको तथ्यांकअनुसार तीनकुने क्षेत्रकाे कार्यक्रममा सुरुमै ३५ सय सुरक्षाकर्मीहरु खटिएका थिए । स्थिति प्रतिकुल बनेपछि थप सयौं सुरक्षाकर्मी खटाइएको छ । सरकारकै तथ्यांकअनुसार राजावादी ( गणतन्त्र बिराेधी प्रदर्शनकारी) ३ देखि ४ हजार मात्रै थिए । अब यहाँ स्वभाविक रुपमा प्रश्न उठ्छ । हातहतियारसहित जनताको सुरक्षाका लागि भनेर खटिएकाे सुरक्षाकर्मीले बराबर संङ्ख्यामा रहेका प्रदर्शनकारीकाे भिडलाई नियन्त्रण गर्न नसक्नुमा राज्य र सुरक्षा संयन्त्रकाे अकर्मण्यता र नालायकी पन छर्लङ्ग उदाङ्गाे भएको छैन ? सुरक्षा निकायको निति अनुसार भिड नियन्त्रणका लागि आवश्यक परे सुरक्षाकर्मीले सुरुमा लाठीचार्ज, पानीको फाेहाेरा त्यसपछि अश्रुग्यास त्यसले पनि नभए हवाई `फायर´ गर्छ । त्यसबाट पनि नियन्त्रणमा नआए अन्ततः घुँडा मुनी गाेली प्रहार गर्ने अन्तरास्ट्रिय सुरक्षा नीति हैन ?
त्यसाे हाे भने, ढुंगा प्रहार मात्रै गरिरहेका प्रदर्शनकारी माथि म्याद गुज्रिएको अश्रुग्यास प्रहार मात्रै हैन । ताकिताकि अन्तर्राष्ट्रिय भिड नियन्त्रण सुरक्षा मापदण्डकाे खिल्ली उडाउँदै घुँडामाथि गाेली प्रहार गर्ने अधिकार सुरक्षाकर्मीलाई कस्ले दियो ? दाेहाेराे भिडन्त जसरी घुँडा माथि गाेली कसरी, के कारण हानियाे ? प्रश्न अनुत्तरित छ । तर, यसको जवाफ आम नेपाली जनताले खाेजिरहेका छन् ।
सुरक्षा दिने भनेर फिल्डमा खटिएका हजारौं सुरक्षाकर्मीहरुले किन आगाेलागी भएको ठाउँमा काेही फसेका छन् कि ? कसैको उद्वार गर्न आवश्यक छ कि भनेर `सर्च´ गरेन ? उद्धारका लागि फिल्डमा रहेका अन्य पत्रकारहरले हारगुहार गर्दा पनि किन घण्टौँसम्म उद्धारका लागि किन चासो देखाईएन ? उद्वारमा त्याे हदसम्मकाे लापरवाही र गैरजिम्मेवार कसरी बन्यो सुरक्षानिकाय ? यसको जवाफ पनि राज्यले दिनैपर्छ हैन र ?
तर, तीनकुने घटना, त्यसपछि सरकारको कदम साथै राजनीतिक दल र तीनको नेतृत्वहरुकाे प्रतिक्रिया हेर्दा स्पष्ट हुन सकिन्छ । दशकाैँदेखि देशको बागडोरकाे चाबि हातमा लिएका, लिईरहेका र अझै लिने तयारीमा रहेकाहरुले पुनः राजा फर्किएलान् अनि आफुहरु सत्ताबाहिर बस्नुपर्ने हाेकि ? भन्ने डरले तर्सिएका छन् । त्यसैले राजतन्त्र पुनःस्थापनकाे माग राख्ने हरुमाथि हदैसम्मको बर्बरता देखाईरहेका छन् । हदैसम्मको कारबाही गर्ने र गराउने गरि अघि बढेका छन् । अनि आफुहरु शान्तिका दुत `गाैतम बुद्व´ जस्तै भएको कुरा जवर्जस्ती स्थापित गराउने ध्येयका साथ लागिपरेका छन् ।
तर, म सम्पुर्ण नेपाली जनताको प्रतिनिधित्व गर्दै राज्य, राज्य संयन्त्र र यी तमाम राजनीतिक दल र तिनका नेतृत्वलाई प्रश्न गर्न चाहान्छु । के राज्यको सुरक्षा संयन्त्र यति कमजोर छ ? यस्ताे कमजोर कस्ले बनायो ?
के ती सडकमा प्रदर्शनका लागि उत्रिनेहरु र सामाजिक सन्जालबाट उक्त प्रदर्शनकाे समर्थन गर्नेहरु सबै देशद्राेही हुन ? एजेन्डा जेसुकै हाेस्, उनीहरुलाई सडकमा आउन बाध्य कस्ले बनायो ? तीनै जनताकाे समर्थनमा ल्याएकाे व्यवस्था बिरुद्ध पुनः जनता आउनुपर्ने स्थिति कसरी सिर्जना भयो ? यसमा काे जवाफदेही हुने हाे ?
के नेपालका राजनीतिक दल जस्ले राजावादीकाे उक्त प्रदर्शनलाई आतंककारीकाे सुनियोजित घटना भनेर घाेक्राे सुकाउँदै छन्, उनीहरु पनि विगतमा याे भन्दा कयौं गुणा हिंसात्मक प्रदर्शनकाे जगमा स्थापित भएका हैनन ? के तपाईंहरुले पटकपटक गरेको आन्दोलनमा सुरेश रजक जस्ता पत्रकार अनि सविन महर्जन जस्ता सयौं हजारौं नेपालीले मृत्युुवरण गरेका हैनन ? हजारौं लाखौं मानिस घरबारविहीन अनि घाइते भएका हैनन ? राज्य र निजी गरि अर्बौं-अर्बकाे क्षति भएको हाेइन ?
यदि हाे भने तपाईंहरुलाई नेपाली जनताले हत्यारा भन्ने कि नभन्ने ? नेपालको प्रचलित कानुन अनुसार तपाईंहरु (विगतमा जनधनको क्षतिहुने गरि भएका प्रदर्शन र आन्दोलनका कमान्डर) लाई कारवाही गर्ने कि नगर्ने ?
हिजो कांग्रेस, माओवादी, एमाले या अरु कुनकुन दलले कुनकुन आन्दोलनकाे नाममा जनताकाे हत्या गरेका हुन भन्ने कि नभन्ने ? कति नेपालीकाे लत्पत्तिएकाे रगतकाे जगमा आफुलाई नेता स्थापित क-कस्ले गर्याे ? कुन तन्त्रकाे नायक भनेर कस्ले कस्लाई स्वघाेषणाा गर्याे ?
उदारहणका लागि २०७२ सालमा टिकापुरमा भएको थारुहरुकाे आन्दोलनलाई हत्याकाण्ड र त्यसको नेतृत्वलाई हत्यारा करार गरेर जेल हालेकाे केही बर्षपछि पुनः उनीहरुसँगै झुकेको, उनीहरु सँगै मिलेर सरकार चलाइरहेकाे कुरा स्मरण गर्नु पर्दैन ? यसबाट पनि जनताको मागलाई समयमै सम्बाेधन गर्न नसके क्षति व्यहोर्नुपर्छ भन्ने बिर्सिएकाे हाे ? यी यस्ता थुप्रै सानाठूला आन्दोलन र प्रदर्शनबाट आजसम्म लगातार सत्ताकाे स्वाद पाएर `जुका जसरी´ त्यसैका निम्ति राजनिती गरेकाहरुले यसलाई मनन गर्नु पर्दैन ?
यसाे भन्दै गर्दा, म हिंसाको समर्थन गरिरहेकाे छैन । हिजाे उनीहरुले मारे, आज यिनिहरुले मार्न पाउनुपर्छ याे पनि मैले भन्न खाेजेकाे हैन । तर, राज्यबिरुद्वकाे, व्यवस्था बिरुद्धकाे आन्दोलन या प्रदर्शन हुँदा सामान्यतया मर्ने र मारिने स्वभाविक हाे । जस्लाई इतिहासले पुष्टि गर्दछ ।
कुनै कुराकाे अन्त्य सहज हुँदैन । त्यसमाथि पनि सत्ता, शासन र शक्ति भनेको हरकाेही पाउन चाहाने र सहजै गुमाउन (छाड्) नखाेज्ने कुरा सत्ययुगदेखि कलियुगसम्म आइपुग्दा पुष्टि भईसकेकाे कुरा हाे । त्यसका लागि युद्व अनिवार्य हुन्छ । भइरहेको थियो र भइराख्ने छ ।
तर, हरेक युद्वमा सत्ता पक्ष-विपक्ष हुन्छन् । युद्वका आ-आफ्नै नियम हुन्छ । सिमा हुन्छ । सिमितता हुन्छ । त्याे सिमा र सिमितता जब सत्तापक्षले ताेड्छ तब बिपक्षी (प्रदर्शनकारी/ सत्ता बिराेधी) प्रतिक्रियामा क्राेध, आवेग, उत्तेजना र शाेकले ग्रसित भएर लाग्छन् । त्यसपछि प्रदर्शन या बिराेध युद्वमा परिणत हुन्छ । तब त्याे देशकाे मातृभूमि रणभुमिमा परिवर्तन हुन्छ । महाभारतदेखि पछिल्लो घटनाक्रम सम्म आइपुग्दा याे कुरा पुष्टि भएकै छ ।
त्यसैले के पुनः मुलुकलाई एकपटक रणभुमिमा परिणत गर्न सरकार र राजनीतिक दल तयार हाे ? म प्रश्न गर्न चाहान्छु । सरकारले राजनीतिक दलहरुकाे उक्सावटमा जसरी एकपछि अर्को राजावादीहरु बिरुद्ध कदम चालिरहेकाे छ यसले मुलुकलाई पुनः द्वन्द्वतर्फ उन्मुख त गर्दै छैन ? फेरि देशमा विगतमा जस्तै थप हिंस्रक आन्दोलन सुरु हुने त हैन ? शंका छ ।
हुँदैन, सक्दैनन् राजावादी समर्थकहरु कम छन् भनेर भन्नेहरुले हिजोको इतिहास फर्किएर हेरुन् । तत्कालीन समयमा माओवादीहरुले राखेकाे मागलाई समयमै सम्बाेधन नगर्दा, माओवादी माथि तत्कालीन राज्य संयन्त्रले थप दमन गर्दा, माओवादी नेतृत्वको टाउकोकाे मुल्य ताेक्दै सुरक्षाकर्मी परिचालन गर्दा देश कहाँ पुग्यो ? नेपाल आमा र नेपालीहरुले कुन कान्तिबिजाेक भाेग्नु पर्याे ?
राेचक र स्मरणीय के छ भने हिजाे सत्ता (तन्त्र) जाेगाउन टाउकोकाे मुल्य ताेक्नेहरु र टाउको जाेगाउन (नयाँ तन्त्र) ल्याउन लागिपरेकाहरु आज सँगसँगै सत्ता साझेदार हुँदै आईरहेका छन् । हिजो परिवर्तनका नाममा मर्ने र मार्नेहरु आज पुनः एकपटक जनताकाे रगत बगाउन उद्वत छन् । हिजाे परविर्तनका नाममा हतियार सहित प्रदर्शनमा उत्रिएकाहरुले, खुलमखुल्ला लुटपाट र हत्याकाण्ड मच्चाएकाहरुले आज तिनकुनेकाे प्रदर्शनलाई आतंककारी गतिविधि भन्न छाडेका छैनन् ।
खैर, हिजाे के भयो ? र भाेलि के हुनेछ ? याे त म जस्तो सामान्य नागरिकले आँकलन मात्रै गर्न सक्ने हाे । तर, देशमा परिवर्तनकाे नाममा विगतमा र भविष्यमा हुने यस्ता खालकाे हत्या, हिंसा, अत्याचार र अन्यायलाई कहिल्यै सहि भन्न सकिँदैन । कम्तिमा म भन्दिनँ ।
किनकि हाम्रो शास्त्रले स्पस्ट भनेकाे छ; `अहिंसा परमाे धर्म´अर्थात्, अहिंसा नै सबैभन्दा ठुलो धर्म हाे । तर, यस्तो भन्दै गर्दा हिजो र आज पनि व्यवस्था बिरुद्व या विभिन्न मागसहित प्रदर्शनमा उत्रिने सर्वसाधारण सबै अपराधी हुन, हिंसा चाहानेहरु हुन त ? भन्ने प्रश्न आउन सक्छ ।
हाेईन्, उनिहरु सरकारले सरकारको नेतृत्व गर्नेहरुले असल अभिभावकत्ब निभाउन नसकेपछि, जनअपेक्षा अनुसार काम गर्न नसकेपछि, भाषण र प्रतिबद्धता गरेजस्तो बिकास गर्न नसकेपछि, सु-शासनकाे प्रत्याभूति गराउन नसकेपछि, भ्रष्टाचार, अन्याय, अत्याचार जस्तो अनैतिक र अधर्मयुक्त कर्ममा लिप्त हुन थालेपछि त्यसकाे प्रतिवादमा उत्रिएका जनताहरु हुन ।
हिजो देखि आजसम्म र भाेली पनि हुने यहि हाे । जनताको राष्ट्र र राष्ट्रिय हितकाे चिन्ता राख्दै, शान्तिकाे चाहाना राख्दै, सम्बृद्विकाे चाहाना राख्दै, सु-शासनको चाहाना राख्दै, न्यायको आशासहित प्रदर्शनमा उत्रिन्छन् ।
अन्ततः हाम्रो शास्त्रले स्पष्ट भनेको छ, `धर्म हिंसा तथैव च:´ । अर्थात्; धर्मको रक्षाका लागि, सत्य र न्यायको स्थापनाका लागि र अधर्मको अन्त्यका लागि गरिएको हिंसा पाप होइन, बरु धर्मको कर्तव्य हो ।
सायद याे कुरा आम नेपाली जनताले स्पष्ट बुझेका छन् । त्यसैले अहिलेकाे परिस्थितिमा जनताको राज्यसत्ता प्रतिकाे वितृष्णालाई नजरअन्दाज नगरियाेस् । न्याय, शान्ति, सु-शासनकाे चाहाना राख्ने नेपालीकाे मनाेभावनालाई तुसाराेपात गर्न सरकार उद्वत नहाेस् । विगतमा भएका कमिकमजाेरिमा आत्माआलाेचना गर्दै राज्यमा राष्ट्रिय सुरक्षा, राेजगारी, भ्रष्टाचाररहित जनतामुखी बिकास र सम्बृद्विकाे प्रत्याभूत गराउन सरकार लागिपराेस् ।
धर्म, न्याय, र सत्यको जगमा शासन चलाउन् । सत्य, धर्म, संयम, र सद्गुणको पालन गर्दै शासन सत्ता चलाउन र जनतालाई अहिलेकै व्यवस्था माथि विश्वास दिलाउन सकुन् । यदि यसाे गर्न सक्दैनन् भने हिजाे जसरी राजाले हाँस्दै सत्ता त्यागे त्यसरी नै त्याग्न राजनीतिक दल र तिनका नेतृत्व तयार हुन् । राजा मर्दा राज्य हराउँदैन भनेजस्तै सरकारमा पटकपटक गएर दशकाैँदेखि शासन गर्दा पनि जनताकाे मनाेभावना र आफ्नो प्रतिबद्धता अनुसार काम गर्न नसकेका तपाईंहरुकाे ठाउँमा पुनः जनताले काेही अरुलाई राख्नेछन् ।
त्यसैले सरकारले व्यवस्था बिरुद्ध सडकमा आन्दोलन गर्न, प्रदर्शन गर्न र आवाज उठाउन आएका नागरिक र तीनका नेतृत्वलाई राज्यदमन फेरि नगरोस् । उनीहरु माथि यस जनविद्रोह (प्रदर्शन) बाट सिर्जित दुखद परिस्थितीको दोष थुपारेर राज्य र राजनीतिक दल आफुहरुलाई पानी माथिको ओभानो देखाउने दुष्प्रयास नगरुन् । अन्यथा, देश पुनः द्वन्द्वमा जानसक्ने प्रष्ट संकेत देखिन्छ । यसाे भयो भने अधर्म हुनेछ । तसर्थ विगतमा भएका सर्वपक्षीय त्रुटि सुधार्दै संयम र गम्भीरतापूर्वक नेपाललाई `रामराज्य´ का रुपमा स्थापित गर्न सबै एकताबद्ध भई लागिपर्नु आजको आवश्यकता हाे । यस कुरालाई समयमै सरकार र राजनीतिक दलहरुले जिम्मेवारीपूर्ण ढंगबाट मनन गर्नुको बिकल्प छैन ।
तसर्थ, यस बिषम परिस्थितीमा आराेपप्रत्याराेप, सत्तामा पुग्ने र सत्तामा टिक्ने , व्यवस्था परिवर्तन या पुनःस्थापना भन्दा माथि उठेर राष्ट्र र राष्ट्रिय हितका निम्ति साेचाैँ ।