जनता समाजवादी पार्टी (जसपा) तीन अध्यक्षसहीत पाँच पदाधिकारी

२५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तीन जना अध्यक्ष रहने भएकाछन् । जसमा महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् । बाँकी सबैको नाम मात्रै पठाइने भएको छ ।
जसपा नेताहरू दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग जाँदैछन् । १० बैशाखमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको एकीकरण सहमतिअनुसार आयोगमा निवेदन दर्ता गर्न जान लागेको समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो ।

तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो । ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।