Breaking News

समस्याग्रस्त सहकारी जोगाइदिन्छु भन्दै मन्त्रीको निकट पात्रले करोडौं रकम माग

-अनुषा थापा
समस्याबाट पार लगाइदिन्छु भन्दै करोड माग्ने,त्यो पैसा क–कसलाई भाग लाग्ने ? संकटमा परेकालाई तर्साएर रकम झार्न स्वयं मन्त्रीकै मान्छे बिचौलिया बनेर सल्बलाएको प्रमाण भेटिएको छ । पहिला संकटग्रस्त घोषणा गर्दै कागजपत्र जफत गर्ने,सर्वोच्चमा परेको मुद्दा  प्रादेशिक मुख्य न्यायाधिवक्ता लगाएर  रोक्न लगाउने,यसवीच संकटबाट पार लगाइदिने नाममा मन्त्रीले बिचौलियालाई खटाउने,तिनले बाहिर निस्केर पैसाको बार्गेनिङ गर्ने ।

आफू घुस नखाने र अरुलाई पनि घुस खान नदिने प्रधानमन्त्री केपी ओलीको प्रणलाई धज्जी काढ्दै हाकाहाकी घुसको डिलिङ्ग भएको अडियो भेटिएको छ । हज्जारौं बचतकर्ताको रकम अलपत्र पारेर बेलायत भागेका अध्यक्ष भरत महर्जनको सुमेरु अहिले समस्यामा छ,त्यसैलाई मन्त्री र बिचौलियाले थप ‘दुहुनो गाई’ बनाउन खोजेको कथा हो यो । राज्यका हरेक मन्त्रालय र कार्यालयमा यस्ता खेलोमेलो हुने गरेकै कारण संघीयता झन झन बद्नाम बन्दैछ ।

समस्याग्रस्त हुनबाट जोगाइदिन्छु भन्दै मन्त्रीको निकट पात्रले करोडौं मागेकोमा अन्तिममा १० लाखमा कुरो टुङ्गिएको यही अडियोमा सुनिन्छ ।

सो कुराकानी गत शुक्रबार भएको हो । फोनमा दलाली गर्ने बिचौलिया भने नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा खस आर्यको तर्फबाट बागमती प्रदेशका प्रतिनिधि उम्मेदवार राजु बर्तौला हुन् । एलेक्स फेन्सी एण्ड सुज सेण्टर सञ्चालन गरेर बसेका उनी धादिङको गजुरीका स्थायी बासिन्दा हुन् । हाल बागमती प्रदेशमा सहकारीमन्त्री पनि काँग्रेसबाटै छन् । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सहकारीमन्त्री मधुकुमार श्रेष्ठका चेला राजुले उनकै आडमा त्यत्रो रकम मागेको अडियोबाट पुष्टि हुन्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका एक मात्र छोरी ज्वाइँ राजबहादुर सिंहले सकार्छु भनी सँसदीय समितिमा छ महिना पहिले नै कबोल गरेको ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई बाग्मती प्रदेशको सहकारी बिभागले सूचना र स्पस्टिकरणबिना समस्याग्रस्त घोषणा गरेको छ । सो सहकारीका पूर्वअध्यक्ष भरत महर्जन हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ अपचलन गरेर बेलायत भास्सिएका छन् । उनीविरुद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ । यता,केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तीन अर्ब ९३ करोड रुपैयाँ मागदाबी गर्दै ललितपुर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको अवस्था छ ।

सो मुद्दाको पेशी भोलिका लागि तोकिएको छ । पूर्वराजाका ज्वाइँले बचतकर्ताको निक्षेप दशैंपछि फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि तिर्न नसकेपछि मन्त्रालयले उसका सबै कारोबार रोक्ने प्रक्रिया अगाडि बढाउन लागेको छ । यसैमा समस्याग्रस्त घोषणा हुनबाट रोकिदिन्छु भन्दै राजुले घुसको बार्गेनिङ गरेका हुन् । आफूले उहिलेदेखि सिग्नल दिएको र अब एक्सनमा जान आवश्यक रहेको भन्दै पैसा मागेको अडियोमा सुनिन्छ ।

१२ मीनेट ३३ सेकेण्ड लामो सो अडियोमा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई समेत मुछिएको छ । उनले अडियोमा काँग्रेस नेता शिवराज अधिकारीकोसमेत नाम लिएका छन् । शिवराजमार्फत आफूसम्म सो कुरा आएको उनको दावी छ ।

राजु भन्छन्,‘मलाई शिवराज दाइले कुरा गर्नुभएको हो । उहाँले त भनिदिने मात्र हो । हामीले एक्सन लिने हो । कर्मचारीले छिनालेको कुरा मैले तपाईंलाई भनेको हो । दाँयाबाँया कुरा केही छैन । सिग्नल त मैले तपाईंलाई उहिल्यै दिएको होइन र ?’ त्यसपछि अर्काे पक्षले जसरी भए पनि सहकारीलाई समस्याग्रस्त हुनबाट रोक्नुपर्छ भन्दै उनीसँग आइडिया माग्छन् ।

उनले भन्छन्,‘यसलाई टुंग्याउनुपर्छ, अलिकति आइडिया देऊ न त ।’ कर्मचारीसँग आफूले मात्र सिधै डिल गर्न सक्ने सुनाउँदै बर्तौलाले शुरुमा एक करोड रुपैयाँ मागेका छन् । पैसाको साटो जग्गा मिलाइदिए पनि हुने उनको भनाइ छ । ‘कर्मचारीलाई जग्गा मिलाइदिएपछि उसले फाइल त… । मैले अहिले हजुरलाई भनेँ नि, समस्याग्रस्त गर्न कर्मचारीको अभाव छ । पत्रिकामा सूचना निकाल्न चार हजार रुपैयाँ पनि छैन क्या ! बुझ्नु भो ? तपाईंलाई मैले भन्न नहुने कुरा भनिदिएको,खासमा सुन्नु न कर्मचारीहरुले आज बेलुका नै सबै स्टडी गर्न लागेको छ क्या । तपाईंलाई मैले सिग्नल दे”को हो,तपाईं अरु विचार गर्नुहोला !’

अर्को पक्षले दुईबीच कुरा मिले पुगिहाल्छ भन्दै उनलाई फकाउन खोजेको छ । मन्त्री श्रेष्ठसँग आशिर्वाद थाप्नेबित्तिकै काम भइहाल्ने उनले उल्लेख गरेका छन् । शिवराजसँग पनि त्यस विषयमा कुराकानी भएको राजुले बताएका छन् । सुमेरु एकदमै समस्याग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै उनले मन्त्री श्रेष्ठलाई धेरै प्रेसर रहेको जनाए । मन्त्रीको भनाइलाई उद्दत गर्दै उनले भनेका छन्,‘मैले आरजुको मान्छेको कति दबाब आउँदा त भाउजू,तपाईंलाई अप्ठेरो पर्छ भनेर फाइल अगाडि बढाइदिएको छु । को मान्छे हो थाहा छैन । शिवराज दाइसँग जोडिएको,मलाई यहाँ टर्चर दिइरहेको छ ।’

एमाले,काँग्रेसका सांसद सहकारीको सेटलमेण्ट गराइदिनपर्यो भनेर मन्त्रालय धाइरहेको राजुको जिकिर छ । प्रदेशमा दर्ता भएका तीन हजार सात सयमध्ये तीन सय सहकारीमा समस्या देखिएको र ती सबैको सेटलमेण्टको भार मन्त्री श्रेष्ठको थाप्लोमा आएको उनले जनाएका छन् । त्यसपछि उनले लम्बाइचौडाइ कुरा गर्नुको साटो कर्मचारीको मुख टाल्न हतारो भइसकेको भन्दै पैसातर्फ इशारा गर्छन् ।

अर्को पक्षले कसरी टाल्ने ? भनेर सोध्छन् । जवाफमा उनले भन्छन्,‘कसरी टाल्ने नि ! तपाईंले ल्याउने,हामीले लगेर बुझाउने । ढुक्क भएर बस्नुस्,तपाईंको फाइल अघि बढ्दैन् ।’ ती व्यक्तिले पैसा बुझाउन मन्त्री श्रेष्ठको सिग्नल चाहिएको बताउँछन् । उनलाई ढुक्क हुन सुझाव दिँदै राजुले खातामा पैसा हालिदिन भन्छन् । कर्मचारीहरुले जति पनि मुख बाउने बताउँदै उनले एक–दुई करोडको डिमाण्ड गर्छन् ।

अर्को पक्षले आफूहरु बचतकर्ताको पैसासमेत फिर्ता दिन नसक्ने अवस्थामा रहेको भनी दुःखेसो पोखेपछि राजुले तत्कालका लागि १० लाख भएमा कर्मचारीको मुख टालिने सुनाउँछन् । वार्तामा उनले आफूलाई मन्त्री श्रेष्ठको सचिवालय सदस्य भनेर चिनाएका छन् । ‘एक करोड, दुई करोड पनि भन्लाजस्तो लाग्छ, तिनीहरुको मुख देख्दाखेरि । यिनीहरुलाई केही फरक पर्दैन । यिनीहरुले अर्बौं हान्या छ,हामीले एक,दुई करोड खाँदा नि केही हुँदैनजस्तो कुरा गर्या थियो । अहिलेलाई १० जति गर्दा मान्छ कि भन्ने हाम्रो अनुमान हो’,राजुको भनाइ हो यो ।

त्यति पैसा दिन नसकेमा के हुन्छ ? भन्ने प्रश्नमा राजुले रवि लामिछाने,बालकृष्ण खाँणको जस्तै हालत हुन्छ भनेर भय देखाउन खोजेका छन् । केस परेपछि पार्टीले बचाउन नसक्ने भन्दै उनले पैसा दिन ढिलो गरेमा कर्मचारीले जाकिदिन बेर नलगाउने बताउँछन् । साथै,मन्त्री श्रेष्ठबाट बुट खाएको प्रसंग पनि निकाल्छन् । आफू भोलि बिहान ७ बजे मन्त्रीसङ्गै हेटौंडा जान लागेको  र उनले आफूले बोलेको नकार्न नसक्ने बताएका छन् ।

पैसा पाएपछि सहकारीको रेकर्ड नै सिस्टमबाट मेटाइदिने राजुको जिकिर छ । यता,राजुले भने आफूले पैसा नमागेको दाबी गरेका छन् । सहकारी समस्याग्रस्त हुन लागेको थाहा पाएर जानकारी मात्र गराइदिएको उनको ठोकुवा छ । आफू मन्त्रालयसँग सम्बन्धित व्यक्ति नभएको उल्लेख गर्दै उनले आफ्नो अडियोमा एडिट गरिएको बताए ।

यसैबीच मन्त्री श्रेष्ठले जनआस्थालाई फोन गर्दै बिचौलियाले गरेको डिलबारे आफूलाई कुनै जानकारी नभएको बताए । आफू स्वयम् सशक्त भएर मर्कामा परेका सहकारी पीडितहरुको पैसा फिर्ता दिलाउन लागिपरेको उनको दावी छ । सङ्गसङ्गै उनले समाचारमा उल्लिखित बिचौलियालाई आफूले प्रहरी लगाएर गजुरीबाट समात्ने जानकारी पनि दिए ।

जन आस्थाबाट

अनुषा थापा