आज म निक्कै खुसी छु, रोमाञ्चक पनि, अनि मनमा अलि अलि डर पनि छ । वर्षौं देखिको सपना भोलि बिहान वसन्त बनेर आउँदैछ । भोलि मेरो जीवनकै खुसीको प्रहर हुनेछ । कुल्चिएँ धेरै काँडाहरु जीवनमा‘ अब काँडा टेकेर फूलका कुरा हुनेछन् । ओहो‘ कस्तो गाह्रो आजको रात काट्न । आँखामा पटक्कै निन्द्रा छैन‘ उफ ।
मलाई केही पुराना कुराहरुको राम्रो सम्झना छ । आजभन्दा करिब २२ वर्ष अगाडी म तेह्र बर्षको हुँदो हुँ, सुदूरपश्चिम पहाडको अति बिकट ठाउँमा बाबाले भरिया बनेर ढाकर बोक्दै जिन्दगीको उकाली र ओरालीमा तमाम सपनाहरुका बिच तीन जना (बाबा, आमा र म) को परिवार हम्मे–हम्मे गर्दै चलाइरहँदा एकदिन अचानक म बिरामी परेको र सम्पत्तिको नाममा रहेको जम्मा खोला बगर नजिकैको एक रोपनी जग्गा धरौटि राखेर धनवीर साहुसँग सयकडा तीनको ब्याजमा मेरै आँखा सामू बाबाले औंठा छाप लगाएको, स्कुलमा पढ्न भनेर नाम लेखाउन जाँदा लामो टुप्पी भएको मास्टरले दलित भन्दै भर्ना लिन नमानेको, धनवीर साहुका छोराले जवरजस्ति पल्लो घरकी रिना दिदिलाई बलात्कार गरेर भिरबाट फालेका वेला कोहिपनि साहुको डरले साक्षी नबसेको, समाजले दलित भन्दै आफू र आफ्नो परिवारलाई मन्दिर छिर्न नदिएको, अनि त्यसैगरी तिर्खा लागेर पानी माग्दा जोसुकैले पनि छोइएला झैं गरेर परैबाट पानी दिएको ।
उफ् ! सम्झिँदा पनि कहाली लागेर आउँछ । सबैले ब्यथैमा पुज्ने त्यो दोबाटोको मन्दिर भित्रको मुर्तिलाई मैले ढुंगा भन्दै त्यहाँबाट हटाएको त्यसै होइन । दलित भन्दै भर्ना सम्म नलिने त्यो मास्टरले विद्यार्थीहरुलाई के शिक्षा दिन्छ हँ ? बुर्झुवा त होला नी, मैले पहिलो पल्ट मास्टरलाई कुटेर आफ्नो नाम आफैंले राखेको थिएँ ‘लडाकु प्रदिप’ । र, पहिलो पल्ट नाङ्गो खुकुरी लिँदै खेदाएको थिएँ धनबीर साहुको छोरालाई ।
शोषक र सामन्तीका बिरुद्व ‘लाल सलाम’ भन्दै नयाँ नेपालको सपनामा लालायित म रात बिरात जंगल–जंगल हिँड्दैै कोमल छातीलाई चट्टानी बारुद बनाएर कमाण्डरको एक निर्देशनमा दुश्मन माथि प्रहार गर्दा प्रत्येक प्रहारमा नयाँ नेपाल देख्ने गर्थें । न खाने टुङ्गो, न बस्ने टुङ्गो । बन्दुकको गोलीका बिच प्रत्येक गोलीले म दुश्मन साध्थेँ । मलाई शोषक र सामन्ती दुश्मनको किल्ला भत्काउनु थियो । दोहोरो फाइरिङ्मा कैयौँपल्ट आफ्नै आँखा अगाडि साथीहरु शहिद हुँदा मेरो मन विचलित भएन । पार्टी अध्यक्षको जिउ नै सिरिङ–सिरिङ पार्ने उर्जाशिल भाषण सुन्दा त लाग्थ्यो अब नयाँ नेपाल टाढा छैन‘ मात्र एक कदम अघि बढ्नु छ ।
“प्रदिप कहाँ छ ? ‘ प्रदिप चाहिन्छ‘ ऊ बिना लड्न सकिँदैन‘ उसको रणकौशल राम्रो छ‘ उ वान म्यान आर्मी हो‘” यस्तै यस्तै भन्दै प्लाटुन कमाण्डरले मलाई खोज्दा अनि खुसीले धाप मार्दा यो छाती गर्वले फूल्ने गथ्र्यो ।
शान्तिपूर्ण राजनैतिक सम्झौता पछि अब म मात्र होइन समस्त देशवासीहरु पनि द्वन्द्व ब्यवस्थापन तथा नयाँ नेपाल बन्ने कुरामा आशावादि नै
थिए । “अब हाम्रो सुप्रिम कमाण्डरहरुको जत्था सिंहदरबार भित्र हतियार छोडेर बुलन्द आवाजका साथ मुद्दा पेश गर्नेछन् । अब सुनौलो वसन्त आउनेछ । शोषक र सामन्तीहरुको अन्त्य हुनेछ । र हामी पनि अनमिनद्वारा प्रमाणिकरण भई सेनामा समायोजन हुनेछौं र सेना भई देशको सेवा गर्नेछौं ।”
यस्तै–यस्तै पुराना कुराहरु मनमा खेलाइरहँदा छर्लङ्ग बिहान हुन्छ । केही घण्टा भित्रैमा अनमिनको प्रतिनिधिद्वारा मेरो हातमा एउटा खाम थमाइन्छ । म फुरुङ्ग हुँदै सेनाको नियुक्ति–पत्र सम्झँदै कौतुहलताका साथ खाम खोल्छु जसमा लेखिएको हुन्छ, “आदरणिय प्रदिप, तपाईंहरु जस्ताले गर्दा नै क्रान्ती र जनआन्दोलन सफल भएको हो । देश र जनताको लागि अनि सामन्त विरुद्व नयाँ नेपाल बनाउनका लागि तपाईंले आफ्नो ज्यान जोखिममा राखेर गर्नुभएको योगदानको उच्च मुल्यांकन गरिन्छ । विगतमा तपाईंले गर्नुभएको राजनैतिक क्रान्तिका लागि तपाईंका हरेक योजना तथा कार्यहरु योग्य मानिनेछन् ।‘ तर तपाईंलाई भने‘” र अन्त्यमा लेखिएको हुन्छ “‘अयोग्य लडाकु ठहर्याउँदै नेपाली सेनामा नियुक्ती दिन नसकिने जानकारी गराइन्छ ।”
बिराटनगर–५
हाल : तेह्रथुम
इमेल : ghimiresushil38@gmail.com