प्रकृतिको छत्र छाँयाबाट,
अंकुराउछेउ,
टुसाउछेउ
फक्रिन्छेउ र फुल्छेउ,
आफू मात्र नफुलेर अर्कोलाई
पनि अंकुराई सृष्टि चलाउछेउ
र पनि किन हरदम एक्लिन्छेउ तिमी ।।
सुखी भनौ भने हर प्रहर
तिमी आँशुको
सागरमा तैरीएकी देख्छु,
दुखी भनौ भने हरदम
बगैँचा भरी फुलेको देख्छु,
शोह्र श्रृङ्गारले सजिएकी देख्छु!!
निन्दित भनौ भने,
हरदम मन्दिर अनि तस्वीरमा
पुजिएको देख्छु,
हिमालयको शिरमा
कोशौ हिंडेर तिम्रै आकृतीमा
पुजिएको भेट्छु ।।
तिम्रो दुखको गहिराई नाप्ने
यन्त्र के होला,
जुन मानवको २१ औं शताब्दीले
भेट्न सकेन,
तिम्रो आँशुको मूल्य कति हो,
जुन धर्तिमा पैदा भए देखि
कहिले रोकिएन ।।
हे, नारी!!
तिमिले सहेकी छौ कसरी ??
ताते, ताते गरेर
आँसु र पसिनाले सिंचित जमिन
तिम्रो होइन भन्दा पनि सहिदियौ,
स्त्री जातिलाई हुने गरेको दमन
मझेरी भित्र देखेर पनि
अन्देखा गरि बाच्यौ,
टुहुरो आमाको हरदिनको
क्रन्दन पनि नसुनेझैं गरि
सुनिरह्य्यौ !!
विशाल हृदय भित्र आफ्नै
थर जोडिएका तर
मानवताको मूल्य
नभएकालाई आफ्नो
बनाउन रातदिन कुदिरह्यौ,
लडेर पछारिदा
उठाउनुको साटो आफ्नो खुट्टाको दोष
देखाउने पित्री अस्तित्वलाई
स्विकारेर पुन: जिवित हुने
प्रयास गर्दै,
उसैको निमित्त खाना तयार गरीरह्यौ ।।
संस्कार नै यहि हो भनेर,
बिना कारण मुटु भरी
बेदनाको वृक्ष रोपिदिने,
दया र ममताको अंश नभेटिने ठाउँका,
सारा नयाँ मानिसलाई
आफ्नो मानिदियौ,
आफ्ना त परको कुरा,
आफ्नो आमाको एक केस्रा
रौं नै जतिको प्रेम नभएको
सुख्खा जमिन फोडेर पनि
आफ्नो बनाउने सपना देखि
वर्सौ देखि मरुभुमिमा
आँशुले सिंचाइ गरीरह्यौ !!
तर,
एक्दिन तिमी एकल, निरीह र रोगी हुँदा
माया त परको कुरा छाँया समेत नदेखाउने
झुटो र आवरणको संसारलाई
के गरि समेट्यौ ।।
न रगतको साइनोले छेक्यो,
न बनाएको साइनोले देख्यो,
तिम्रो दुखमा त
केबल टुलुटुलु
आफैं बाधिएका निरीह
पशुहरुले मात्र हेरे र
सुर्यको ज्योतिले पनि
सहन नसकेर अस्तायो,
साँझको मिर्मिरले
आँशु ओझेलमा पारेर लुकायो
र पुनः तिमी आगो र पानी
नेर पुगेर रुवाउनेकै
भोक शान्त पार्ने जमर्को गरीरह्यौ ।।
तर पनि नारी तिमी संसार मेरो
हो भनेर अर्ध निद्रा र थाकेको पाउ
लिई खै किन हो जीवन भरी
तरवारमाथी हिडिरह्यौ ।।
नाता, सम्बन्ध सेवा र कर्तव्यको नाममा
तिम्रा हड्डी कति घोटिए,
संस्कारको नाममा तिमिमा
आघातका कति जहर पोखिए,
आफ्नो पुर्ण जीवन नै समर्पित गर्दापनी
दाइजोको नाममा कति कुटिल
छल रचिए !!
डाडु पनियौ देखि ती निर्जिव भाडा सबैले
चिनी सक्दा पनि तिमिलाई
त्यहाँ कसैले चिनेनन,
ज्वोरोले घिटी घिटी हुँदै
बच्चा रुन्छन, वृद्ध भोकाउछन,
एबम पाहुना नराम्रो मान्छन भनी
गरेउ कति,
जब आयो तिम्रो ढल्ने पालो,
दोष आयो नाटक र अगति भनी ।।
न शहर न गाउँ, नारीको पीडा उस्तै छ,
न झुपडी न महल आँशुको
लहर उस्तै छ,
स्वाद हिन रंगहिन भएर पनि,
यो आँसु सच्चा साथी बनेको छ,
आफ्ना भन्ने अपरीचितले
फेरि दुखको गहिराइमा एक्लै
टेक्न लगाएकै हुन्छ ।।
नारी,
तिम्रो सच्चा साथी रैछिन कोमल प्रकृति,
जसले दिन्छिन हरदम तिमिलाई,
पाखा, पखेरा र पहाडी किन्नरलाई साक्षी राखी,
बह पोख्न शालिन मनोहर आकृती !!
नारी,
कस्ले देख्ने रक्तिम संघर्ष,
को छ यहाँ आफ्नो,
कथित घर अनि
घरैकाले नबुझे पछि,
आफ्नो दैलोमै बिझ्न थाल्ने रैछ छेस्को ।।
अरुलाई दर्दको कहानी सुन्न रमाइलो,
पिडाले विक्षिप्त मुहार देख्न
खोज्छन घरी घरी,
कर्तव्यबोधको सुचि दिन चाहनेले,
सोध्दैनन कहिले कहाँ छ घाउ भनी ।।
वर्सौ पछि जन्म स्थान पुग्दा,
चिन्ने मानिसहरुकै कमि भई सकेछ,
सुस्काएको बतास,
सुक्न आँटेको धारा,
र त्यो बूढो पिपलले
बरु चिन्न खोजेछ ।।
पिपल हेर्दै टोलाउँदा,
बाल्यकालको याद आयो,
प्यारो घर आँगन् र जुन झैं
टलक्क स्नेहकी खानी आमा र हजुरामाको
स्मरणले सतायो ।।