काठमाडौँ । विगत १५ दिनदेखि आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने बताएका छन् । विद्यालय शिक्षा ऐन लगेर मात्रै घर फर्किने बताएका हुन् । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन जारी नहुँदासम्म आन्दोलन नरोकिने बताए । सरकारले १२ गते संसद्को अधिवेशन बोलाएको छ । १२ गते ऐन पास भयो भने १३ गते काममा फर्किन्छौँ । ऐन नलगी घर फर्किँदैनौँ,’ अध्यक्ष सुवेदीले भने ।
हिजो (मङ्गलवार) बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्नका लागि वैशाख १२ गते सङ्घीय संसद्को बैठक आह्वान गर्ने निर्णय गरेको थियो ।
त्यस्तै महासङ्घले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको र यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको जनाएको छ ।
महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आ–आफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
महासङ्घले भने ऐन जारी गर्नका लागि संसद्को अधिवेशन बोलाउने बाहेक कुनै पनि निर्णय नगरेको जनाएको छ । मन्त्रिपरिषद्को निर्णयपछि आज आन्दोलन परिचालन समितिको बैठक बसेको थियो । समिति बैठकले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप सशक्त बनाउने निर्णय गरेको थियो । आफ्ना मागहरू सम्बोधन गर्दै ऐन जारी गर्नुपर्ने माग रहेकोमा ती मागहरू सम्बोधनसहित ऐन जारी नहुँदासम्म आन्दोलन नरोक्ने निर्णय गरेको हो ।
आज दिउँसो १२ बजेदेखि माइतीघर मण्डलामा भेला हुन आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूलाई आह्वान गरिएको छ । ‘अहिले अब हामी निर्णायक मोडमा आइपुगेका छौँ । हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन ।

