पहिलो पटक कोरोना पोजेटिभ देखिएका ६ जनालाई दोस्रो पटक परीक्षण नगरी डिस्चार्ज

२३ जेठ, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज भएका छन् ।

अस्पतालमा उपचाररत बाबुछोरी सहित ६ जना कोरोना संक्रमितलाई आज शुक्रबार डिस्चार्ज गरेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताएका छन् ।

‘स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो उनका अनुसार ‘लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने निर्देशिका आएको छ । हामीले त्यही निर्देशिकामा टेकेर डिस्चार्ज गरेका हौँ ।

अस्पतालले शुक्रबार अछामको मेल्लेख गाउँपालिका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका– १ का २० र २७ बर्षीय पुरुष, वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरेको हो ।

उनीहरु भारतबाट जेठ ८ गते कैलालीको गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए । सूचना अधिकारी श्रेष्ठले चिकित्सकको सल्लाहमा उनीहरुलाइ डिस्चार्ज गरेको बताए ।

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले भने उनीहरु सबैको एक पटक पीसीआर विधिबाट परीक्षण गरेको र त्यसपछि नगरेको बताए ।

चिकित्सकहरुले उनीहरुलाई अझै दुई सातासम्म घरमा सुरक्षित ढंगबाट बस्न सुझाव दिएर डिस्चार्ज गरेको बताएका छन् ।
साथै अस्पतालले ६ जनालाई अलपत्र पारेकोसमेत आरोप लगाइएको छ ।

शुक्रबार दिउँसो २ बजे डिस्चार्ज भएका उनीहरु साँझ अबेरसम्म धनगढीमै अलपत्र अवस्थामा छन् ।