क्वारेन्टाइनमा पनि जातीय भेदभाव

२३ जेठ, अर्घाखाँची । क्वारेन्टिनमा पनि दलित र गैरदलितबीच जातीयता भेदभाव देखिएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ४ खन चुंदारटोलको समाजकल्याण प्रावि क्वारेन्टिनमा स्वयंसेवकको रुपमा खटिएका दलित युवाले पकाएको खाना त्यहाँ रहेका एक जना दिनेश घिमिरे नखाएपछि उनलाई अर्कै क्वारेन्टिनमा सारिएको छ ।

रोजगारीको लागि भारतको दिल्लीमा रहेका वडा नं. ४ शीतका ४० वर्षीय घिमिरेलाई गत मंगलबार गाउँ फर्किएपछि समाजकल्याण प्राविमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिइनमा रहेका अरू गैरदलितले कुनै छुवाछुत नगरेपनि घिमिरेले दलित युवकले पकाएको खाना खान्न भनेपछि एक दिन एक गैरदलित स्थानीयको घरबाट खाना ल्याएर खुवाइएको थियो ।

वडा सदस्य सुनारले दलितले पकाएको खान्न भनेपछि त्यही क्वारेन्टिनमा राख्दा क्वारेन्टिनमा बस्ने र व्यवस्थापन गर्ने दुवै पक्षलाई समस्या हुनसक्ने भएपछि घिमिरेलाई खन लुटिपोखरीमा रहेको कालिकानेर राष्ट्रिय माविमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

गाउँमा भोजभतेर र पानी पधेरोमा छुवाछुत गर्ने र बार्ने प्रचलन हटिसकेको भएपनि अहिले एकजनाले खाना नखाने भनेपनि यसलाई धेरै विवादमा नल्याउन अर्को क्वारेन्टिनमा राखिएको बताए वडा सदस्य सुनारले बताए ।

हामी दलित र गैरदलित परिवार मिलेर बसेका छौं, पधेरो बार्ने, छुवाछुत गर्ने प्रचलन हटिसकेको थियो, उहाँलाई के भयो खै ? किन यसो गरे हामीलाई थाहा भएर ।

कतिपय क्वारेन्टाईनमा आफै पकाएर पनि खाने गर्नुभएको छ, धेरैमा त दलित र गैरदलित मिलेर सँगै खाने गर्नुभएको छ, उहाँले मात्र यसो गर्नु भएको हो ।
त्यस्तै अर्का वडा सदस्य अशोक भुसालले वडा कार्यालयले क्वारेन्टिन तयार गर्दा नै दलित र गैरदलितलाई एउटै बनाएकोले एकजनाको विषयलाई लिएर समुदायविच द्वन्द्ध बढाउन नहुने बताए ।

सबै क्वारेन्टिनमा दलित गैरदलित सबै मिलेर बस्नुभएको छ, हामीले राख्दा पनि त्यसरी छुट्टयाएर राख्ने गरेका छैनौं, उहाँ अलि सोझो हुनुहुन्थ्यो के सोचेर छोएको खान्न भन्नुभयो ? त्यसैलाई लिएर यो घटनालाई ठूलो बनाउन हुँदैन ।

उनले वडा भित्र बनाइएका सबै क्वारेन्टाइनमा जातीय रुपमा नहेरि त्यहाँ बस्नेहरुलाई पायक पर्ने, सहज हुने र खाली भएको आधारमा राख्ने गरिएको जानकारी दिए ।