राती ११ बजेदेखि २ः४५ सम्म चन्द्रग्रहण लाग्ने

२३ जेठ, काठमाण्डौ । आज राति साढे ११ बजेदेखि पौने ३ बजेसम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारीअनुसार सन् २०२०को दोस्रो पेनम्ब्रल साढे ११ बजेदेखि सुरू भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने २ बजेर ४९ मिनेटमा सकिनेछ ।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास भन्दा भिन्न खालको चन्द्रग्रहण भएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन् ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ,’ उनले भने,’चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो । यसमा बिरल छाँया पर्ने हुनाले यसलाई पेनम्ब्रल भनिएको हो ।

छाँया दुई प्रकारको हुन्छन् ः सघन र बिरल ।

साथै पेनम्ब्रल चन्द्रग्रहण बारे नेपाली पात्रोमा पनि समावेश गरिएको पाइँदैन ।

’यो हाम्रो आँखाले देख्न मुस्किल छ । जसकारण हाम्रो नेपाली पात्रोमा पनि यसबारे समावेश गरिएको देखिन्न ।

वैज्ञानिकहरूका लागि यो ग्रहण अध्ययनको विषय हुने भएकोले महत्वपूर्ण मानिएको छ । यसअघि २०७६ पुष २५ गते शुक्रबार राति पनि यस्तो खालको चन्द्रग्रहण देखिएको थियो ।

एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यसअघि पेनम्ब्रललाई ‘बिरल छाँयाजनिक चन्द्रग्रहण’ भन्ने शब्द राखिएको थियो । तर त्यो नाम बुझ्न गाह्रो हुने देखिएपछि सोसाइटीले पेनम्ब्रललाई नै प्राथमिकतामा राखेको हो ।