२३ जेठ, काठमाडौँ । ६ जनाको ज्यान जाने गरी भएको रुकुम सोती घटनामा संलग्नता रहेको आशंकामा थप ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यीसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।
पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन छन् ।
यसअघि पक्राउ परेकाहरूको अनुसन्धानको क्रममा बयानमा उनीहरूको पनि नाम जोडिएपछि पक्राउ गरिएको रुकुम जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।
केसीका अनुसार अदालतको अनुमतिमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान सुरु गरिएको छ ।
पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएको थियो । त्यसमध्ये यस अघि १८ जनालाई पक्राउ गरिएको थियो । अझै दुई जना फरार रहेका छन् । उनीहरु सबै एकै गाउँ सोतीका रहेका छन् ।
गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए ।
त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । यसअघि पक्राउ परेका १८ जनालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको छ ।