अखिल (क्रान्तिकारी) राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गएको माघ १२ गते देशैभरका प्रदेशमा निर्वाचन भएर काठमाडौंको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा मतगणना समेत भइरहेको अवस्थामा मतपत्र सदर की बदर गर्ने विषयमा विवाद हुँदा चार दिनदेखि रोकिएको मतगणना आजरातिबाट हुने बताइएको छ । अरु प्रदेशको मतपरिणाम आइसकेको छ भने बाकी उपत्यकाको दुई विशेष प्रदेशको मतगणना भइरहदा विवाद हुँदा अबको मतगणना माउ पार्टी माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्ति पेरिसडाँडामा हुने भएको छ।
त्यसका लागि वाल्मीकिमा थन्किएको मतपेटिका पेरिसडाँडा लगिएको बताइएको छ ।
बिद्यार्थीको छलफलपछि निर्वाचन समितिको निर्णयअनुसार मतपेटिका पेरिसडाँडा लगिएको बुझिएको छ।
पेरिसडाँडा लगिएपछि मतगणना आजैदेखि सुरू हुने बताइएको छ । खासमा सदर र बदर मतको विवादमा निर्वाचन आयोगको निर्णय र निर्वाचन निर्देशिकामा उल्लेख भएअनुसार हुने भएको छ।
वाल्मीकिमा रहेको मतपेटिका पेरिसडाँडा लगिएपछि अध्यक्षका प्रत्यासी बिजय प्रकाश सापकोटा बाहेकका तीन अध्यक्षका उम्मेदवारहरू हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले ुनोट अफ डिसेन्टु लेखेका छन्।
नोट अफ डिसेन्टमा वाल्मीकि क्याम्पसमा मतदान भयो, त्यहीँ मतगणना हुनुपर्छ। निर्वाचन समितिले रातो रङको कलमले रेजा लगाउने व्यवस्था गरेको थियो। गणना हुँदा त्यसैलाई मान्यता दिने र अरू रङलाई बदर गर्नुपर्छ भन्ने उल्लेख छ ।
विद्यार्थीले मतदानस्थलमा राखिएको रातो मसीबाहेक आफैले ल्याएको कलम प्रयोग गरी मतदान गरेको खुलेपछि त्यस्तो मत सदर गर्ने कि बदर गर्ने भन्नेबारेमा अध्यक्षका चार उम्मेदवारबीच चार दिनदेखि विवाद थियो।
वाल्मीकिमा ५२२ मत खसेको छ। सातै प्रदेशको नतिजा आइसक्दा वाल्मीकिको मत निर्णायक हुने देखिएको छ।
अहिलेसम्म अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।
सापकोटा ४८५ र राईले ४६१ मत ल्याएका छन्। त्यस्तै उपदेश यादवले २२१ र सुदिन पौडेलले १४४ मत प्राप्त गरेका छन्। विजय प्रकाश सापकोटाले कोशीमा ५७, मधेसमा ४२, बागमतीमा ८७, गण्डकीमा ६०, लुम्बिनीमा ८७, कर्णालीमा ८० र सुदूरपश्चिममा ७२ मत पाएका छन्। हेमन्त राईले कोशीमा १२६, मधेसमा ४१, बागमतीमा ४८, गण्डकीमा ३९, लुम्बिनीमा ६६, कर्णालीमा ८२ र सुदूरपश्चिममा ५९ मत पाएका छन्।
त्यस्तै उपदेश यादवले कोशीमा ५१, मधेसमा ६७, बागमतीमा ५१, गण्डकीमा १४, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा २३ मत ल्याए।
सुदिन पौडेलले कोशीमा १९, मधेसमा १, बागमतीमा १७, गण्डकीमा ६१, लुम्बिनीमा २२, कर्णालीमा ८ र सुदूरपश्चिममा १६ मत ल्याए।
अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत चयन गर्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले भरमग्धुर प्रयास गरेका थिए। त्यसका लागि उनले अध्यक्षका आकांक्षीहरूलाई खुमलटार नै बोलाएर छलफल गरेका थिए। सहमति नजुटेपछि प्रचण्डले उम्मेदवारहरूलाई प्रतिस्पर्धाका आधारमा नेतृत्व छान्न निर्देशन दिँदै विद्यार्थीको चुनावमा पार्टीको पदाधिकारीले हस्तक्षेप नगर्ने भनेका थिए।