माघ १५ गते । म्याग्दी , वर्षौ देखि धुलो र हिलोका कारण सास्ती भोगेका बेनी नगरपालिका ८ कालिपुल बसपार्कका स्थानीयहरु अस्फाल्ट प्रविधिको कालोपत्रे योजनाका लागि ठेक्का सम्झौता भएपछि खुसी थिए । ठेक्का सम्झौता गरेको ठेकेदारले सरासर काम गरेको भए अहिले यो सडक कालोपत्रे भएर चिटिक्क परेको हुन्थ्यो । तर ठेकेदारको ढिलाईका कारण सर्वसाधरण हरुलाई सास्ती भएको छ ।कालिगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत यो सडक कालोपत्रे गर्न लागेको हो । गत भदौं १४ गते पाँच महिना भित्र सम्पन्न गर्न आयोजनाले कालिगण्डकी पुल देखि पाँचसय मिटर अगाडी सम्मको सडकमा अस्फाल्ट प्रविधिको कालोपत्रे गर्नका लागि सक्षम ब्रोदर्श प्रा.लिसँग ९२ लाख ४१ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले केही महिना अघि आएर सडक भत्काएर छाडेको छ । सडकमा बेस हालेको छ । तर सडक कालोपत्रे गर्न आएको छैन । हावाहुरीले बेसलाई उडाउँदा कालिपुल बजार नै प्रदुषित भएको छ । अहिले यो योजनाको ठेकेदार हराएको छ ।
हराएको ठेकेदारलाई खोज्न सूचना नै जारी गर्नुपर्ने अवस्था सिर्जना भएको कालिपुलवासीहरु बताउँछन् । ठेकेदारले समयमा आएर काम नगरेका कारण कालिपुलवासीहरुले सास्ती भोग्नुपरेको स्थानीयवासी सुरेन्द्र शर्माले बताउनुभयो । यसअघि यो सडक कालोपत्रे भएपनि ठेकेदार र सम्बन्धित निकायको लापरबाही कारण टिकाउ खालको कालोपत्र भएन । सडक अत्यन्तै जिर्ण बनेका कारण म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले सडकको अवस्थाका बारेमा सामाजिक संञ्जालमा टिकाटिप्पणी गर्ने गरेका थिए । योजनाको ठेक्का सम्झौताको म्याद सकिन लाग्दा पनि ठेकेदार काममा फर्किएको छैन । सडकमा उडेको धुलोका कारण बेनी आउने पर्यटक देखि स्थानीयहरुले सास्ती भोगेका छन् ।
पर्वत र म्याग्दीलाई जोड्ने पक्की मोटरेबल पुल देखि बसपार्क हुँदै बगरफाँट जोड्ने पुल सम्मको छोटो दूरीको यो सडक कालोपत्रे गर्न पाँचमहिना अघि ठेक्का सम्झौता गरिएको भएपनि ठेकेदारले निर्माणमा ढिलाई गरेको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विष्णु चापागाईले बताउनुभयो । सडक निर्माणमा ठेकेदारले ढिलाई गरेपछि आयोजनाका तर्फबाट ताकेता गरिएको उहाँले बताउनुभयो । चिसो मौसम र ठेकेदारको अस्फाल्ट प्लान्ट टाढा भएकाले निर्माणमा ढिलाई भएको आयोजनाका सूचना अधिकारी चापागाईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ठेकेदारबाट ढिलाई भएको साचो हो । काम थाल्न आयोजनाका तर्फबाट ताकेता गरेका छौं । ठेकेदारको अस्फाल्ट प्लान्ट टाढा भएकोले चिसो मौसममा कालोपत्रे गर्दा समस्या आउने भएकाले केही ढिलाई भएको हो ।
कालोपत्रेका लागि बेस हालिसकिएको छ । अबको केही दिनमा ठेकेदारले काम थाल्छ ।’’ ठेकेदारले सडकमा पानी नहालेका कारण धुलो उडेको उहाँले बताउनुभयो । काम थालेको एकहप्ता भित्रमै काम सकिने उहाँले बताउनुभयो । सदरमुकाम बेनी प्रवेशद्धारका रुपमा रहेको कालिपुल क्षेत्रको सडक जिर्ण हुँदा जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुको आलोचना हुँदै आएको छ । मुस्ताङ भ्रमणमा आउने पर्यटकहरुले समेत वसपार्क स्थित सडक हिउँदमा धुलो,बर्खायाममा हिलो र सडकमा परेका खाल्टा खुल्टीका कारण सास्ती भोग्दै आएका छन् । कालिपुलको यो सडकलाई हेरेर बेनी र म्याग्दीको बारेमा सामाजिक सञ्जालमा आलोचना समेत हुने गरेको छ ।