हिजो मरेका २० बर्षे युवकको आज कोरोनाबाट मृत्यु भएको पुष्टि

२३ जेठ, सुर्खेत । भातरबाट सुर्खेत आई क्वारेन्टाइनमा बस्दै आएका तर आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट जेठ २१ गते बिहिबार घर फर्किएका सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको सोही दिन घरमै निधन भएको थियो तर आज शुक्रबार बिहान २ बजे उनको रिर्पोटमा कोरोना पोजेटिभ आएपछि उनको कोरोनाबाट नै मृत्यु भएको पुष्टि भएको छ ।

ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे । ‘डेथ भएकोले प्राथमिकता दिनु भनिएको थियो ।

मृतक २० वर्षे युवक जेठ ७ गते भारतबाट आई सुर्खेतको जनता मावि विद्यापुरको क्वारेन्टिनमा बस्दै आएका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो ।

मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको वडाध्यक्ष धनबहादुर थापाले बताए ।

मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको उनले बताए ।

मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै दुई पुगेको छ ।